close

भद्रकल्पका ४ मध्ये ३ बुद्धको जन्म नेपालमा, मुर्तिको अनावरण 

भद्रकल्पका ४ मध्ये ३ बुद्धको जन्म नेपालमा, मुर्तिको अनावरण 

Trulli
ADVERTISEMENT

कपिलवस्तु-  धेरैलाई थाहा नुहन सक्छ ? बुद्ध भन्नाले शाक्यमुनि गौतम बुद्ध मात्र होइनन् भन्ने कुराको विषयमा जानकारी नहुन पनि सक्छ । 

बौद्ध साहित्य अनुसार भद्रकल्पमा (अहिलेको युगमा) ४ बुद्धले जन्म लिएका छन् । बौद्ध सभ्यता हरेक कल्पमा ५ बुद्धले जन्म लिने बिश्वास गरिन्छ । हालको समय भद्रकल्पमा पहिलो बुद्ध क्रकुछन्द, दोस्रो बुद्धको रुपमा कनकमुनीे, तेस्रो बुद्धको रुपमा कश्यपले जन्म लिएको मान्यता छ । 

 

लुम्बिनीमा जन्म लिएका बुद्ध शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको रुपमा लिइन्छ । उनी भद्रकल्पको चौथो बुद्ध हुन् । पाचौँ बुद्धको रुपमा मैत्रेय बुद्धले जन्म लिने बौद्ध दर्शनमा उल्लेख भएको छ । 


जन्म लिएका ४ मध्ये ३ बुद्धको जन्मस्थल नेपालमै छ । कश्यप बुद्धको जन्मस्थलको विषयमा भने हालसम्म कुनै प्रमाण सहितको दावी नभएको लुम्बिनी विकास कोष तिलौराकोट साइटका प्रमुख माधव प्रसाद आचार्य बताउँछन् ।

 

बौद्ध साहित्यको आधारमा क्रकुच्छन्द बुद्धको जन्म कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवा र कनकमुनी बुद्धको कपिलवस्तु नगरपालिका ११ अरौराकोटमा जन्म भएको मानिदै आएको छ । बौद्ध जन्मस्थलको प्रमाण स्वरुप ईसापूर्व तेस्रो शताव्दीमा मौर्य सम्राट अशोकले स्तम्भ गाडेका थिए । ती स्तम्भहरुलाई अशोक स्तम्भको रुपमा चिनिदै आएका छन् ।

 

जन्मस्थल कपिलवस्तुका प्रथम र दोस्रो बुद्धको प्रतिमा स्थापना भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले शनिवार कपिलवस्तुमा प्रतिमा अनावरण गरेका छन् । नेपालमा जन्म लिएको प्रमाण भए पनि प्रथम बुद्ध क्रकुछन्दको आकृतिको लागि म्यान्मारको बौद्ध सभ्यताको सहयोग लिइएको थियो ।

 

अनावरणका क्रममा मुख्यमन्त्री पोखरेलले क्रकुछन्द बुद्धको प्रतिमाको अध्ययन गर्दा म्यान्मारमा रहेको प्रतिमालाई आधार मानी लुम्बिनी विकास कोषको सहयोग लिएर तयार गरिएको बताए ।  


दुवै बुद्धका जन्म स्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको हो । शनिवार विहान प्रतिमा अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले दुवै बुद्धका जन्मस्थल प्रमाणित भइसकेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताए । 

 

संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमा सहितको पार्कले ध्यान खिच्ने उनको भनाई छ । 

 

संसारकै दोस्रो बुद्ध कनकमुनि बुद्धको प्रतिमा समेत अनावरण गरिएको छ । जन्मस्थल कपिलवस्तु नगरपालिका वडा नं. ११ अरौराकोटमा एक समारोहको आयोजना समेत गरिएको थियो ।


पित्तल धातुबाट निर्माण गरिएको एउटा प्रतिमा बनाउदा १६ लाख ५० हजार खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताए । 

 

गोटिहवाको पार्क २० लाख १७ हजार ८ सय ५६ र अरौराकोट पार्क ३० लाख ५ हजार ७ सय ९९ को लागतमा तयार गरिएको छ । लुम्बिनी प्रदेश सरकारको योजना अनुसार डिभिजन वन कार्यालयले उपभोक्ता समिति मार्फत निर्माण गरिएको थियो । 

 

दुवै बुद्धलाई माहायानी समुदायले मुख्य देउताको रुपमा मान्ने गरेका छन् । चिन, भुटान, भियतनाम, कोरिया तिव्वत लगायतको क्षेत्रमा माहायानी समुदायको बाहुल्य छ ।