close

खरको छानामुक्त हुँदै कावासोती

खरको छानामुक्त हुँदै कावासोती

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा २ सय १ घरका खरको छानो विस्थापित गरिने भएको छ । नगरपालिकाको १७ वटै वडामा गरेर २ सय १ घरको खरको छानो विस्थापित गरिने कावासोती नगर उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले जानकारी दिए ।


लक्षित वर्गमा परेका लाभाग्राहीसँग अहिले सम्झौता गर्ने काम भइरहेको उनले बताए । सम्बन्धित वडा कार्यालयसँग समन्वय गरेर सम्झौता गर्ने काम भइरहेको उनको भनाइ छ ।

 

नगर उपप्रमुख मर्दनियाका अनुसार चालू आर्थिक वर्षको असार मसान्तसम्म सम्झौता गरेर आउँदो आर्थिक वर्ष सुरु हुनासाथ छानो छाउने काम सुरु गरिनेछ ।

 

सुरक्षित नागरिक आवास निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत कावासोतीमा यो अभियान सञ्चालन भएको हो ।

 

खरका छानामा छिटो आगलागी हुने, पानी पर्दा चुहिनेलगायत समस्या भएकाले लक्षित वर्गका नागरिकको जीवनको सुरक्षाका लागि कावासोतीमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताए ।

 

खरको छानो विस्थापित गरेर जस्तापाता लगाउन प्रतिघर ५० हजार रुपैयाँका दरले प्रदान गरिनेछ । अभियानअन्तर्गत तत्कालका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको घर्तीले बताए । 


कार्यक्रम पूरा गर्न १ करोड ५० हजार रुपैयाँ लाग्ने बताइएको छ । दुई किस्ता गरेर लाभग्राहीलाई रकम उपलब्ध गराइनेछ ।