close

मायादेवीका ज्येष्ठ नागरिक र सुत्केरीलाई पोषण सामग्री (भिडियो खबर) 

मायादेवीका ज्येष्ठ नागरिक र सुत्केरीलाई पोषण सामग्री (भिडियो खबर) 

ADVERTISEMENT

कपिलवस्तु- तराई मधेशका दक्षिणी भेग मानव विकास सुचकांकमा धेरै पछाडि छ । गरिबीका कारण बालबालिकासँग शिक्षण सामग्रीको अभाव हुने गर्दछ । सुत्केरी महिलाले पोषण युक्त खानाको अभाव झेल्ने गरेका छन् । महिला होस वा वृद्धवृद्धा वा बालबालिका समुदायमा सचेतना नहुँदा उनीहरुको विकास हुन सनेको छैन ।

 

समुदायमा पछाडि परेका महिला, बाल बालिका र ज्येष्ठ नागरिकलाई प्रोत्साहन गर्नका लागि कपिलवस्तुको मायादेवी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार मार्फत सहयोग गरेको छ । गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यकम अघि बढाउँदा महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी आमा तथा कृषक लाभान्वित भएका छन् ।

 

पालिकाले कक्षा १ मा भर्ना हुन आउने ४ सय बालबालिकालाई झोला तथा स्टेशनरी सामग्री, जेष्ठ नागरिकलाई आयुर्वेदिक औषधि वितरण गरेको छ । पालिकाले बर्थिङ सेन्टरमा प्रसूति गराएका सुत्केरीलाई पोषण झोला उपलब्ध गराएको छ । त्यस्तै २ सय आमाहरुलाई अण्डा, घ्यु, चना, च्यवन्प्रास, सेनेटरी प्याड लगायतका सामग्री वितरण गरेको छ ।

 

स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि प्रोत्साहन गर्ने उद्देश्यले सुत्केरीलाई पाेषण सामग्री वितरण गरेको पालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रम अन्र्तगत ३० जना महिलालाई सिलाइकटाई तालिम समेत दिइएको छ । उनीहरुलाई सिलाई मेसिन र व्यापार संचालनका लागि प्रोत्साहन गर्ने समेत तयारी गरिएको छ ।


कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६० लाख रकम उपलव्ध गराएको थियो । कार्यक्रमबाट पालिकाका विपन्न समुदायलाई टेवा पुर्‍याउने लक्ष्य लिइएको छ । पालिकाको सहयोग पाएपछि स्थानीय समेत खुसी भएका छन् । एक सय बढी कृषकको लागि आवश्यक पर्ने सामग्री र पालिकाको आफ्नै बजेटबाट ४ सय इलेक्ट्रिक स्प्रे र प्राङ्गारिक मल समेत वितरण गरेको छ । 


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रदेश सरकारले अघि सारेको नयाँ कार्यक्रम हो । यो कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारले रकम पनि धेरै विनियोजन गरेको छ । सोही कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जिम्मा पाएका पालिकाहरूले पनि गाउँका वृद्धवृद्धा, सुत्केरी र बालबालिकालाई लक्षित गर्दै कार्यक्रम गर्दा यो योजना सफल हुँदै गएको छ । यस्तै थप कार्यक्रम ल्याउन स्थानीयले पालिकासँग माग गरेका छन् ।