close

धुर्कोट खरको छानामुक्त पालिका घोषणा

पद वहालीको पहिलो महत्त्वाकांक्षी निर्णय चार वर्षमा पूरा

धुर्कोट खरको छानामुक्त पालिका घोषणा

पद वहालीको पहिलो महत्त्वाकांक्षी निर्णय चार वर्षमा पूरा

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीमा खरका छानामुक्त र एक घर एक धारा २०७४ का ३ वटै निर्वाचनको प्रमुख चुनावी नारा थिए । धुर्कोट गाउँपालिका जनप्रतिनिधिले पद वहालीकै दिन अर्थात् २८ असार २०७४ मा खरका छानामुक्त गर्ने पहिलो निर्णय गरे ।

 

निर्णय भएको ४ वर्ष पुगेकै दिन सोमबार जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गरे ।
खरका छानामुक्त गाउँपालिका घोषणा गर्दै पराजुलीले स्थानीय तहहरूले चुनावमा गरेका वाचा पूरा गर्न थालेकामा खुसी व्यक्त गरे ।

 

उनले जिल्लामा खरका छाना विस्थापन र एक घर एक धाराको विषयमा भएका कामको चर्चा गरे । साथै, विभिन्न अभियान र कार्यक्रममा सधैँ एक कदम अगाडि बढेकामा धुर्कोट गाउँपालिकाको प्रशंसा व्यक्त गर्दै सबै स्थानीय तहलाई असल अभ्यासको सिको गर्न आग्रह गरे ।

 

अहिले खरका छानामुक्त अभियान गुल्मीसहित देशभर सञ्चालन भएको छ । तर, गुल्मीका १२ स्थानीय तहमध्ये पहिलो पटक धुर्कोट गाउँपालिका खरको छानामुक्त गाउँपालिका घोषणा भएको छ ।

 

खरका छानामुक्त अभियानको पहिलो निर्णय र अभियान पूरा गर्ने देशभरका स्थानीय तहमा आफूहरू पहिलो भएको गाउँपालिका प्रमुख भुपाल पोख्रेलले दाबी
गरे । ‘गत वर्ष नै धुर्कोटमा खरका छाना विस्थापन गर्ने काम सक्यौँ । तर, कोभिडका कारण घोषणा गर्न सकेका थिएनौँ,’ उनले भने, ‘यो कार्यक्रमको निर्णय र कार्यान्वयन गर्ने देशभरमा धुर्कोट पहिलो हो ।’ 

 

करिब साढे १९ करोड खर्च

 

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त घोषणा गर्न करिब साढे १९ करोड रुपैयाँ बजेट खर्च गरिएको छ । गाउँपालिकामा १ करोड ८१ लाख ९२ हजार २ सय ८७ रुपैयाँ जस्तापाताका लागि रकम खर्च भएको छ ।

 

यसमा ५ सय ४ घरधुरीले जस्तातापा पाएका छन् । त्यस्तै, नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत १ सय ५७ घर निर्माण भएका छन् । यसका लागि ७८ लाख ५० हजार रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए । 

 

जनता आवासअन्तर्गत ३७ र एकीकृत नमुना बस्ती कार्यक्रममार्फत १८ घर निर्माण भएका छन् । यी दुई कार्यक्रका लागि २ करोड ४६ लाख ५१ हजार ८ सय ३२ रुपैयाँ खर्च भएको छ ।

 

त्यस्तै, भुकम्पपछि ५ सय २९ घर पुनर्निर्माण गरिएको छ । यसका लागि १३ करोड ८३ लाख रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । 

 

२५ वर्षे रणनीतिक सोच 
 

धुर्कोट गाउँपालिकाले २५ वर्षे रणनीतिक सोच र पहिलो पाँच वर्षे आवधिक योजना अगाडि बढाएको छ । २५ वर्षे रणनीतिक सोचअन्तगएत ‘समृद्ध धुर्कोट हाम्रो शान‘ उत्पादनशील, शिक्षित, मर्यादित, मध्यम आय र रोजगारीका अवसर सिर्जना गर्ने रहेको छ ।

 

त्यस्तै, योजनामा सुखी नागरिक बसोबास गर्ने स्वच्छ सुन्दर पर्यटकीय अन्तरनिर्भर र समृद्ध धुर्कोट गाउँपालिका निर्माणको परिकल्पना गरिएको छ ।

 

धुर्कोट गाउँपालिका प्रमुख पोख्रेलले पहिलो ५ वर्षे आवधिक योजना निर्माण गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच र लक्ष्यका साथ आफूहरूले काम गरेको बताए । 

 

खरका छानामुक्त गर्ने कार्यक्रमसँगै ३ हजार १३ घरमा स्वच्छ पिउने पानीको व्यवस्था गरिएको, उत्पादनमा आधारित अनुदान, बाँझो जमिन उपयोगमा अनुदान वितरणसँगै खसीबोकाको मासुमा आत्मनिर्भर गाउँपालिका घोषणा गरिएको पोख्रेलले जानकारी दिए ।

 

भौतिक पूर्वाधारमा अब्बल

 

धुर्कोट गाउँपालिका जिल्लाका अरू स्थानीय तहको तुलनामा भौतिक पूर्वाधारमा समेत अब्बल देखिएको छ ।

 

गाउँपालिकाले २३ कोठे पालिका कार्यालय भवन निर्माण गरी सेवा प्रवाह गरिरहेको छ भने करिब ४ सय क्षमताको बहुउद्देश्यीय सभाहल, सहिदपार्क, धुर्कोट कोटमा संग्रहालय निर्माण, गाउँपालिकाको केन्द्र रहेको बर्बोट क्षेत्रमा ७ सय मिटर बाटो कालोपत्रे भइसकेको गाउँपालिका उपप्रमुख शिव खत्रीले जानकारी दिए ।

 

त्यसबाहेक सेउघादेखि धुर्कोट गाउँपालिका बर्बोटसम्मको १३ किमि सडक कालोपत्रेको काम अगाडि बढ्नुको साथै, स्थानीय सडक मर्मत तथा स्तरोन्नतिको काम भएको खत्रीले बताए ।

 

सडकसँगै चार वर्षको अन्तरालमा गाउँपालिकाभित्रका विद्यालय भवनमा ९६ वटा नयाँ कक्षाकोठा थप निर्माण भएका छन् ।  खत्रीका अनुसार १३ वटा शौचालय निर्माण र माध्यमिक तथा आधारभुत विद्यालयमा आईसिटी, विज्ञान प्रयोगशाला र पुस्तकालय निर्माण भएका छन् । 

 

त्यसबाहेक वन वातावरणतर्फ सुक्खा पोखरी निर्माण, खानेपानीका मुहान संरक्षण, सरसफाइ र वृक्षारोपणको काम भएको केसीले बताए ।