close

नवलपुरको हुप्सेकोटमा बाढीले ३ घर भासिए, ३१ घर विस्थापित

नवलपुरको हुप्सेकोटमा बाढीले ३ घर भासिए, ३१ घर विस्थापित

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको हुप्सेकोटमा निरन्तर वर्षासँगै आएको बाढीले जमिन कटान गर्दा ३ घर भासिएका छन् भने ३१ घर विस्थापित भएका छन् ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ बाकखोरको खानी खोलामा आएको बाढीले जमिन कटान गरी बस्तीमा रहेको जमिन भासिँदा ३ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।


त्यसैगरी बागखोरका १५ र बसेनीको १३ घर उच्च जोखिममा रहेकाले स्थानीयलाई स्थानान्तरण गर्न थालिएको प्रहरीले जनाएको छ ।


उनीहरू सबैलाई अहिले जिल्ला प्रहरी कार्यालय नवलपुर र सशस्त्र प्रहरी चोरमाराको टोलीले उद्दार गरेर हुप्सेकोट वडा नम्बर १ जुकेपानीमा रहेको ज्ञानज्योति मावि र बेलुवामा रहेको जनता माविमा स्थानान्तरण गरिँदै छ ।

 

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले खोलाले जमिन कटान गरेपछि बस्ती पूरै भासिँदै गएको, जमिन धजाधजा परेर फाटेका कारण बस्नै नमिल्ने गरी दुई गाउँका ३१ घर विस्थापित भएका छन् ।


उनले भनिन्, ‘पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । उद्दारमा कठिनाइ भएको छ । राती नै वडा नम्बर १ बसेनीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा स्थानीयलाई स्थानान्तरण गरिए पनि विद्यालयमा माथिबाट पहिरो खस्न सुरु गरेकाले त्यहाँ जोखिम बढेको छ ।’