close

खोपसहित होटलमा भेटिएका बिर्तामोडका कोभिड फोकल पर्सन खड्का स्थानीयको फन्दामा

कोरोनाविरुद्धको खोप आफन्तकै पोल्टामा

खोपसहित होटलमा भेटिएका बिर्तामोडका कोभिड फोकल पर्सन खड्का स्थानीयको फन्दामा

कोरोनाविरुद्धको खोप आफन्तकै पोल्टामा

Trulli
ADVERTISEMENT

झापा- झापाको बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का कोरोनाविरुद्धको खोपसहित शुक्रबार होटलमा भेटिएका छन् । कोरोनाविरुद्धको खोप आफन्तलाई लगाउन लिएर हिँड्दै गर्दा होटलमा पक्राउ परेको स्थानीयको दाबी छ । बिर्तामोडको टाइमलेस होटलमा उनलाई स्थानीयले खोपसहित पक्राउ गरेका थिए ।

 

‘बिग्रन्छ भनेर फ्रिजमा राख्न पठाएको हो’, खड्काले पक्राउ परेपछि स्थानीयलाई भने, ‘जिल्ला स्वास्थ्यको गाडीले ल्याएर छाडिदियो, नगरपालिका बन्द भएकाले यो मेरो क्वार्टर हो । यहाँबाट अब नगरपालिका लान्छु,’ उनले भनेका कुरा स्थानीयले फेसबुक लाइभ गरेका छन् ।

 

बिर्तामोड नगरपालिकामा कोरोनाविरुद्धको खोप राख्न फ्रिजको व्यवस्था छ भने बिर्तामोड नगर अस्पतालमा पनि फ्रिज छ । पछिल्लो पटकको खोप अभियानका लागि बिर्तामोडमा ४ हजार ४ सय ११ भायल आएको थियो । सबै खोप नगरले आफैं भण्डारण गरेको थियो । 

 

खड्का बिर्तामोडका औषधी बिक्रेता हुन् । सरकारी अस्पतालका अधिकांश ठेक्का उनले पार्दै आएका छन् । उनको कामसँग नगरबासी पहिलेदेखि नै असन्तुष्ट छन् ।

 

चौतर्फी विरोध

झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोभमेन्टमा लुकाएको १०० भायल कोरोनाविरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका फोकल पर्सन ओम खड्कामाथि कारबाही गर्न चौतर्फी माग भएको छ । 

 

मानव अधिकार सञ्जाल झापाले प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रूपले होटलमा लुकाइराखेको अवस्थामा बरामद हुनु लज्जास्पद र निन्दनीय भएको जनाएको छ । 

 

महासचिव डा. रुपकप्रसाद खनालले जारी गरेको विज्ञप्तिमा जनताको स्वास्थ्य अधिकारमाथि खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गरी आगामी दिनमा खोपलाई दुरुपयोग हुन नदिई सहज बनाउन बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग माग गरिएको छ । 

 

त्यस्तै, नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले पनि कारबाहीको माग गरेको छ । विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न बिर्तामोड नगरपालिकासमक्ष माग गरिएको छ । यस्ता घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र विभिन्न बहानाबाजीमा आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको विपक्षमा जनदबाब सिर्जना गर्न अपिल गरिएको छ ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले पनि कारबाहीको माग गरेको छ । नगर अध्यक्ष रन्जु प्याकुरेलले विज्ञप्ति जारी गरी जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषयमा जिम्मेवार निकायका व्यक्ति नै संलग्न रहनुले जनआक्रोश चुलिएको अवस्थामा सत्यतथ्य छानबिन गरी जनतालाई सुसूचित गर्न र त्यस्ता कर्मचारीलाई अविलम्ब कारबाही गर्न स्थानीय सरकारसमक्ष माग गरिएको छ ।

 

नगरपालिकामा तालाबन्दी

नेपाल विद्यार्थी संघ जिल्ला समिति र अखिल क्रान्तिकारी जिल्ला कमिटीले संयुक्त रूपमा शनिबार नगरपालिकामा तालाबन्दी गरेका छन् । कोरोना खोप अनियमित रूपमा होटलमा भेटिए पनि कुनै छानबिन नहुनुमा नगरपालिकाको यसमा हात हुन सक्ने देखिएकाले तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष अनिल सुवेदीले बताए । 

 

उनीहरूले अहिलेसम्म नगरपालिकाले वितरण गरेको खोपको प्रत्येक केन्द्रको विवरण र मौज्दातसमेतको जानकारी गराउनसमेत माग गरेका छन् । सर्वपक्षीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ । 

 

झापा एक सातालाई सिल

शनिबार राती १२ बजेबाट झापा जिल्ला सिल हुँदै छ । एक साताका लागि डिसिसिएमसी झापाले जिल्ला सिल गर्ने निर्णय गरिसकेको छ । यसअघि झापाको ११ वटा पालिकाले सिल गरेका थिए । जिल्लामा कोरोना संक्रमण अनियन्त्रित भएपछि सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

 

झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा, बिर्तामोड र झापा गाउँपालिका सिल गरिएको थियो । सिल गरिएको अवधिभरका लागि औषधी, स्वास्थ्य सामग्री, इन्धनबाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रूपमा बन्द गरिनेछ ।


तरकारी, फलफूल, माछामासु बिहान ६ बजेदेखि ८ बजेसम्म बिक्री गर्न पाइनेछ । अहिले सञ्चालन भइरहेका परीक्षाका लागि आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ । सिल भएको समय सबै व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको छ । अत्यावश्यकबाहेकले पसल खुला गरे कानुनबमोजिम कारबाही गरिने बताइएको छ ।