close

लालपुर्जाविहीनको रोदन: आयोग खारेज गरेर कुठाराघात

लालपुर्जाविहीनको रोदन: आयोग खारेज गरेर कुठाराघात

Trulli
ADVERTISEMENT

तनहुँ- ४२ वर्षअघि थातथलो छाडेर टीकाराम सिग्देलको परिवार भानुमतीबाट बसाइँ झर्‍यो । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्याउलीबजारमा बसाइँ आएका उनले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा छैन । आफ्नो जग्गा आफ्नैजस्तो लाग्दैन उनलाई । बैंकबाट ऋण लिएर केही गरूँ भने पनि हातमा लालपुर्जा छैन ।


यसपालि आफूले भोगचलन गर्ने जग्गाको लालपुर्जा हात पर्ने उनको आश थियो । तर, मंगलबार बेलुकी प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिदिपछि लालपुर्जा पाउने उनको सपना तुहाइदिएको छ ।


टीकारामले पाँचाैँ पटक यसपालि लालपुर्जाका लागि निवेदन दिएका थिए । ‘अहिलेसम्मकै शक्तिशाली आयोग थियो । देशभर काम चलिरहेको छ । यसपालि लालपुर्जा कसो नपाइएला भन्ने थियो । तर, जनतालाई भुंग्रोमा हाल्ने काम भयो’, उनले भने । 


नेता आपसमा लड्दा दुःखी जनताको सपनामा लात हात हान्ने काम भएको सिग्देल बताउँछन् । पटक–पटक लालपुर्जाको सपना देखाउँदै आफूहरूलाई भोट बैंकमा मात्रै प्रयोग गरेको उनको आरोप छ ।


जनता लालपुर्जा माग्दै सरकारविरुद्ध आन्दोलनमा उत्रने उनको चेतावनी छ । ‘नेतालाई भोलि यहाँ आउनुपर्दैन ? कुन मुख देखाएर आउने हुन् ? अब जनता विरोधमा उत्रिन्छन् । उस्तै परे रगतको खोलो बग्छ’, उनले भने । 


लालपुर्जा नहुँदा फार्मसमेत दर्ता गर्न नपाएका भीमाद नगरपालिका वडा नम्बर ८ भागरका मानबहादुर थापा सरकारले आयोग खारेज गरी गलत गरेको बताउँछन् । ‘एउटा सरकारले सुरु गरेको काम अर्को सरकारले बदर गर्ने हो भने हामीले कहिले लालपुर्जा पाउने ?’ उनको प्रश्न छ ।


आयोगको पदाधिकारी हटाए पनि आयोग नै खारेज गर्न नहुने उनको तर्क छ । आफैंले भोगचलन गरेको जग्गाको लालपुर्जा सिरानीमा राख्ने सपना पूरा यो जुनीमा नहुने चिन्ता छ, मानबहादुरलाई ।


तनहुँमा २७ हजार बढी भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् । ओली सरकारले देवी ज्ञवाली नेतृत्वमा गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगमा २७ हजार ३ सय ८७ जनाले लालपुर्जाका लागि निवेदन दिएका छन् । 


यीसमध्ये २४ हजार २ सय अव्यवस्थित बसोबासी हुन् । २ हजार ५ सय ७५ भूमिहीन दलित र सुकुम्बासीले आवश्यक जमिनसहित लालपुर्जा पाउन निवेदन दिएका हुन् । यसअघिको आयोगमा प्रक्रिया पूरा भएका ६ सय १२ जनाले लालपुर्जाका लागि निवेदन दिएका छन् ।


लालपुर्जाका लागि १० वटै पालिकाबाट संकलन भएको निवेदन प्रविष्टको काम सुरु भएको थियो । मंगलबार खारेज भूमिसम्बन्धी समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदी भन्छन्, ‘भानु नगरपालिका वडा नम्बर ७ व्यास नगरपालिका वडा नम्बर १० र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ मा जग्गा नापजाँच सुरु गर्नेवाला थियौँ । तर, आयोग नै खारेज भयो ।’ 


यसअघिका आयोगले प्रक्रिया पूरा गरेर लालपुर्जा नदिएका ६ सय १२ परिवारलाई लालपुर्जा दिन सूचना निकाल्ने निर्णय मंगलबार मात्रै भएको उनले जानकारी दिए ।