close

बैंक खाता खोल्न नमानेपछि घरदैलाेमै बाँडियाे भत्ता

बैंक खाता खोल्न नमानेपछि घरदैलाेमै बाँडियाे भत्ता

Trulli
ADVERTISEMENT

हुम्ला- हुम्लाको अदानचुली गाउँपालिकाभित्र वितरण गरिने सामाजिक सुरक्षा भत्ता वितरणका लागि लाभग्राहीले खाता खोल्न आनाकानी गरेपछि पालिकाले एक वर्षपछि घरघरमा पुगेर वितरण गर्न थालेको छ । 


अदानचुली गाउँ कार्यपालिकाको बैठकले सामाजिक सुरक्षा भत्ता गाउँ-गाउँ गएर वितरण गर्ने निर्णय गरेको छ ।  बैठकले करिब १२ महिनासम्म वितरण नभएको सामाजिक सुरक्षा भत्ता लाभग्राहीले खाता सञ्चालन गर्न नसक्दा अन्ततः गाउँ-गाउँमा गएरै वितरण गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए ।


उनका अनुसार गाउँपालिकाले बारम्बार लाभग्राहीलाई खाता खोल्न आग्रह गरे पनि नटेरेपछि गाउँमै गएर वितरण गर्न लागिएको हो । 


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग कोष तथा लेखा नियन्त्रक कार्यालयले कुनै पनि लाभग्राहीको सामाजिक सुरक्षा भत्ता र बाल अनुदान रकम अनिवार्य खातामार्फत मात्र भुक्तानी गर्न निर्देशन दिएको थियो ।


सबैलाई खाता सञ्चालन गर्न पटक-पटक सूचना जारी गर्दा पनि अधिकांशले खाता सञ्चालन नगरेकै कारण हातहातमै वितरण गर्न बाध्य भएको उनले बताए ।


अदानचुली गाउँपालिका वडा नम्बर १ मा भने सबै लाभग्राहीको खाता खोलेका छन् । अन्य वडामा खाताबाटै वितरण गर्ने भनिए पनि यो आवमा नसकिएको हो । यो वर्ष भने अनिवार्य खातामार्फत वितरण गराउने गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।


उनका अनुसार लाभग्राहीलाई पटक-पटक आग्रह गर्दा पनि खाता खोल्न नमानेपछि २२ साउनमा वडा नम्बर ५ बाट गाउँगाउँमै गएर वितरण गर्ने निर्णय भएको हो । 


वडा नम्बर १ का सबै लाभग्राहीको खातामा रकम जम्म भइसकेकाले ग्लोबल आइएमई बैंकमा गएर रकम बुझ्न १ नम्बर वडाका वडाध्यक्ष रग थापाले आग्रह गरे । उनका अनुसार नवीकरण गराएका सबै लाभग्राहीको रकम बैंकमा जम्मा भइसकेको छ ।