close

किसानको ‘हेलो’मा मेयरको ‘डन’

किसानको ‘हेलो’मा मेयरको ‘डन’

Trulli
ADVERTISEMENT

रूपन्देही- ‘मेयर साहेब, बाँध भत्कियो’ बिहीबार बिहानै पानबारीका किसानले सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीको मोबाइलमा फोन गरेर समस्या राखे, ‘अस्तिको बाढीले बाँध भत्काइदियो, एकपटक हेरिदिनुपर्‍यो ।’


कार्यालयमा भर्खरै पुगेका मेयरका अगाडि बिहीबारको व्यस्त दैनिकीको चाङ थियो । व्यस्तता पन्छाउँदै मेयर कार्कीले किसानलाई भने, ‘सामान्य क्षति भएको रहेछ भने म तत्काल मर्मतका लागि बजेट व्यवस्था गरिदिन्छु ।’


तर, किसानले उताबाट बजेटभन्दा पनि मेयरको उपस्थिति खोजेको बुझेपछि मेयर कार्कीले आफू साँझ निरीक्षणका लागि आउने वचन दिए । 


पानबारी सिँचाइ कुलोबाट आश्रित ३ सय बढी परिवार बाढीले बाँध भत्काइदिएपछि तनावमा थिए । १ सय ५० बिघामा सिँचाई गर्दै धान, गहुँ, मकै, तोरी, केराउ, मुसुरोजस्ता बाली लगाउँदै आएका किसानको बाँधसँगै सपना पनि भत्किएको थियो । 


बिहान वचन दिएका मेयर कार्की बेलुकी साँढे ५ बजेतिर भत्किएको बाँधनिर पुग्दा प्रभावित किसान निकै खुसी देखिन्थे । सोही समूहमा रहेका वडा नम्बर १० का स्थानीय टीकाराम पाण्डेले चिन्तित हुँदै आफ्ना पीडा राख्न सुरु गरे । 


‘मेयर साहेब, हामीले २०६० मा २५ लाख नगद र गाउँका किसानको श्रमदानबाट बाँध बनाएका थियौँ । १८ वर्षसम्म मर्मत हुन नसक्दा बाढीले बाँध मात्र होइन, हाम्रो आशा पनि बगाइदियो ।’


मेयर कार्कीले बाँधको क्षति पनि सँगै नियालिरहेका थिए । किसान पाण्डेका कुरा नसकिँदै मेयर कार्कीले बाँधको मर्मत गरिदिने वचन दिए । ‘विज्ञ र प्राविधिकलाई निरीक्षण गर्न लगाएर बाँध फुट्नुको कारण पत्ता लगाउँदै यसको दिगो समाधान गर्नेछु,’ मेयर कार्कीले भने, ‘डन’ ।


जनताको नजिकको सरकार भएकाले साना–ठूला सबै खाले समस्या सुन्दै समाधानका लागि प्रयत्न गरेर स्थानीय सरकारको अनुभूति दिलाउने प्रयास भइरहेको बताउँदै मेयर कार्कीले पालिकाखबरसँग भने, ‘निवेदन लिएर कार्यालयमा दर्ता गरेपछि मात्रै काम गर्ने होइन, सम्भव भएका काम चाहे टेलिफोन, इमेल, फेसबुक जेसुकै माध्यमबाट समस्या वा गुनासो आए पनि हामी एक्सनमा गइहाल्छौँ ।’


टोपीले नछोपिएका सेतै फुलेका कपाल, काँधमा नाम्लो, आँखामा भत्किएको बाँध हेर्दै डिलमा बसेर मेयर र अगुवा किसानको कुरा सुनिरहेका वृद्ध किसान ललितजंग सारु केही बोलेनन् ।  गम्भीर मुद्रामा बसेका सारुको मौनताले भन्दै थियो, ‘भत्किएको बाँध बनेपछि बोलौँला ।’