close

जुवा अखडा बन्दै नवलपुर, २ दिनमै समातिए १७ जुवाडे 

जुवा अखडा बन्दै नवलपुर, २ दिनमै समातिए १७ जुवाडे 

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीमा सोमबार र मंगलबार गरी २ दिनमा मात्रै नवलपुर प्रहरीले ३ ठाउँबाट १७ जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवाडेबाट प्रहरीले ५० हजार रुपैयाँ बढी नगद बरामद गरेको छ । 


नवलपुरमा जुवा खेलाउने सिलसिला चलेको झन्डै १ वर्ष भयो । जिल्ला प्रहरी कार्यालय नवलपुरमा नयाँ प्रहरी प्रमुख अर्थात् प्रहरी उपरीक्षक प्रकाश मल्ल आएपछि उनले जुवा नियन्त्रण अभियानै चलाएका छन् । 


नवलपुरमा आर्थिक वर्ष २०६७÷७७ मा ८ वटा मात्र जुवासम्बन्धी मुद्दा दर्ता गर्न सकेको नवलपुर प्रहरीले आर्थिक वर्ष २०७७/८८ मा ५३ स्थानबाट जुवा खेलिरहेकालाई पक्राउ गर्‍यो ।


त्यति मात्र होइन, सोही अवधिमा जुवा खेलेको स्थानबाट ३ सय ९१ जनालाई पक्राउ गर्न सफल भएको थियो भने जुवाको खालबाट ३६ लाख ५१ हजार १ सय ४१ रुपैयाँ, २ सय ६० दिराम र ४२ हजार ६ सय ५५ भारुसमेत बरामद गर्न सफल भयो । 

 

ठूला जुवाडे समाउन प्रहरीलाई सकस

प्रहरीको सक्रियतामा भएको जुवा नियन्त्रण अभियानको स्थानीय स्तरबाट पनि प्रसंशा भएको छ । तर, ठूला जुवाको खाल फेला पार्न नसक्नुले प्रहरीका लागि टाउको दुखाइको विषय भएको छ । नवलपुर, चितवन, धादिङ, गोर्खालगायत जिल्लाबाट दैनिक ५० लाख देखि १ करोडसम्मको जुवा (कौडा) खेल्न नवलपुरमा आउने गर्छन् । 


स्रोतका अनुसार ती टोली अधिकांश समय नवलपुरमा खेल्ने गर्छन् भने कहिलेकाहीँ चितवन, धादिङ, गोर्खा पनि पुग्ने गर्छन् । धेरै समय खेलिने स्थान नवलपुर भएकाले नवलपुर प्रहरीलाई अहिले यो विषय टाउको दुखाइ बनेको हो । 

 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रकाश मल्ल भन्छन्, ‘हामी दिनरात खटेका छौँ । ठूलो रकमको जुवा खेल हुन्छ भन्ने जानकारी पाएका छौं । प्रयास जारी छ । एक दिन अवश्य नियन्त्रणमा लिनेछौँ ।’ 


जुवाडेलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरीलाई बढी मात्रामा परिचालन गरेको छ । बेलाबेला स्थानीयले पनि सूचना दिने गरेको मल्लले बताए । प्रहरी उपरीक्षक मल्लले भने, ‘हामी पुग्दा नपुग्दै सूचना पाएर उनीहरू भागिसकेका हुन्छन् ।’

 

कहाँबाट चुहिन्छ सूचना ?

ठूला रकममा तास, कौडा खेलिएको ठाउँबाट कहिले स्थानीयले त कहिले हारेर वा जितेर फर्किएकाले प्रहरीलाई खबर गर्ने गर्छन् । तर, प्रहरी पुग्दा नपुग्दै सूचना चुहावट भएर जुवाडेलाई नियन्त्रणमा लिन सकेको छैन ।  साना तथा मझौला खालका खेलमा प्रहरीले जुवाडेलाई नियन्त्रणमा लिन सफल भए पनि ठूला खाले जुवाडेलाई नियन्त्रणमा लिन सकेको छैन । 


स्रोतका अनुसार कतिपय अवस्थामा जुवा खेलाउनेले नै प्रहरी आउने बाटोमा पहरा दिएर जुवा खेल्ने स्थानको सुरक्षा दिएका हुन्छन् भने कतिपय अवस्थामा प्रहरीकै तल्लो निकायबाट प्रहरी आउँदै छ भन्ने सूचना चुहावट हुने गरेको स्रोतको दाबी छ ।  सादा पोसाककै प्रहरीले जुवा खेलाउनेसँग हप्ता असुल्ने र उनीहरूलाई नै सुरक्षा दिने गरेको स्रोतको दाबी छ ।


तर, नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्ल भने सुरक्षा निकायबाट सूचना चुहावट भएको र रकम अर्थात् हप्ता असुली गरेर उल्टै सुरक्षा दिएको विषय स्वीकार्न तयार छैनन् । मल्लले भने, ‘प्रहरीले पैसा असुलेको, पक्राउ गर्न जाँदा सूचना चुहावट गरेको र सुरक्षा दिएको भन्ने विषय मान्न तयार छैन । तर, कहीँ न कहीँबाट सूचना पनि पुग्ने गरेको छ ।’ 

 

यसो भन्छ प्रहरी

जिल्ला प्रहरी कार्यालय नवलपुरले केही दिनअघि कावासोतीमा पत्रकारसँग अन्तरक्रिया गर्दै नवलपुरमा पछिल्लो एक वर्षको आपराधिक गतिविधि सार्वजनिक गरेको थियो । सोही क्रममा दिइएको तथ्यांकअनुसार अपराध नियन्त्रणमा नवलपुर प्रहरीको सबैभन्दा ठूलो सफलता जुवातास खेल्नेलाई पक्राउ गर्नु रहेको प्रहरी उपरीक्षक प्रकाश मल्लको दाबी थियो । 


गत आर्थिक वर्षमा जुवाताससम्बन्धी ८ वटा मुद्दा मात्रै दर्ता भएको नवलपुरमा अघिल्लो आर्थिक वर्षमा त्यो संख्या ह्वात्तै बढेर ५३ वटा पुगेको छ । प्रतिशतको हिसाबले अघिल्लो आर्थिक वर्षमा भन्दा ५ सय ६२ प्रतिशत बढी मुद्दा प्रहरीले दर्ता गरेको छ । 


प्रहरी उपरीक्षक मल्लका अनुसार चाडपर्व, मेलापर्व, मेलापात आदिको नाममा जुवातास खेलाउने गरेको पाइन्छ । नवलपुरमा लुकीछिपी तथा प्रहरीको गतिविधि नियाल्दै जुवातास सञ्चालन गरिएको पाइएको छ । 


त्यस्तै, जुवातास अपराधजन्य कार्य हो भन्ने ज्ञानको कमी, जुवातास खेल्ने बानीको विकास आदिले खेल्ने क्रम नरोकिएको मल्लको ठहर छ ।