close

इलामे पहिचानको प्रतिमा संरक्षण गर्न स्थानीयको आग्रह 

इलामे पहिचानको प्रतिमा संरक्षण गर्न स्थानीयको आग्रह 

Trulli
ADVERTISEMENT

इलाम- इलाम चियाबारीमा लिम्बू (याक्थुङबा) समुदायको पहिचान स्वरूप निर्माण गरिएको प्रतिमाको मर्मत गर्न सरोकारवालालाई स्थाीयले आग्रह गरेका छन् । उनीहरूले नाक तोडफोड गरी कुरुप उभिएको प्रतिमाले इलाम चियाबरीको शोभासमेत घटाउँदै लगेको बताएका छन् ।
 
कुरुप प्रतिमाले लिम्बु समुदाय मात्र होइन, समग्र जिल्लाकै सौन्दर्यलाई प्रभाव परेको बताउँदै स्थानीय सरकारलाई प्रतिमाको मर्मत गरेर लाज छोपी दिन नागरिकले आग्रह गरेका छन् ।

 

पहिचानसँग जोडिने प्रतिमाको मर्मत गर्न किरात याक्थुङ चुम्लुङको अगुवाइ आवश्यक रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका प्राध्यापक दीपक लुंगेली फेसबुक वालमा लेख्छन्, ‘यो कुुरा पहिचानसँग जोडिन्छ । यसो हेर्दा पुनर्निर्माणका लागि ठूलो लगानी लाग्ने पनि देखिँदैन । यसलाई अब बनाउनतिर लागौँ । किराँत याक्थुङ चुम्लुङ इलामले पहल कदमी लिँदा राम्रो । सहयोगी मनहरू पक्कै एकजुट भइहाल्छन् । सकिँदैन भने मास्क लगाइदिएरै भए पनि लाज छोपिदिऊँ ।’

 

तोडफोड गर्नु आदिवासी संस्कारको ठाडो हनन भएको बताउँदै दाहाल फेसबुक वालमै लेख्छन्, ‘यो आदिवासी संस्कारको ठाडो हनन हो । अमूल्य सम्पत्तिका यस्तो प्रतिमा हामी मर्मत गरुँ म तयार छु । अभियान जारी होस् । टाढा छु तर यो काम कसैको मुख नताकी हामी गराैँ ।’

 

स्थानीय सरकारले बनाइदिनुपर्ने भन्दै मिलन खवास भुजेल लेख्नछन्, ‘हामी सचेत इलामे नागरिकले संरक्षण गर्नुपर्नेमा बिगार्नेतिर लाग्नुहुँदैन । सक्षम भनिएको नेतृत्वले यति काम त नगरपालिकाको ७ दिनको चियापान खर्चमा मितव्ययीता अपनाउँदा सहजै बन्छ ।’ 

 

प्रतिमाको शीघ्र मर्मत हुनुपर्ने लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्ष अतीत योङहाङ भन्छन्, ‘लिम्बू विद्यार्थी मञ्च इलामको तर्फबाट सक्दो पहल गरे पनि सम्बन्धित निकायले केही समय अनुसन्धान जारी राख्ने र पुनः बनाउने भन्नेमा अहिलेसम्म यस्तै-यस्तै भइरहेको छ ।’

 

अनौपचारिक रूपमा किरात याक्थुङ चुम्लुङले मर्मतको पहल गरे पनि नगरपालिकाले बनाउने आश्वासन मात्र दिएको किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष यामप्रसाद योङहाङ बताउँछन् । 

 

किरात याक्थुङ चुम्लुङ इलामले मर्मतको विषयमा ध्यानाकर्षण पटक–पटक गराएको जानकारी गराउँदै चुम्लुङ अध्यक्ष गायत्री थेगिमले भनिन्, ‘हाम्रो कुरा सुनुवाइ भएन । यस्तो कुरुप अवस्थामा आन्तरिक र बाह्य पर्यटकले फोटो खिचेर सामाजिक सन्जालमा हाल्छन् । तब निकै पीडा बोध हुन्छ । यो मूर्ति बनाउन बजेट व्यवस्थापन गर्ने नगरपालिकासँग धेरै पटक संस्थागत, व्यक्तिगत रूपमा कुरा गरेको छु ।’ 

 

प्रतिमा भालूढुंगा पर्यटन समितिले अघिल्लो वर्ष बनाएको हो । निषेधाज्ञाकै समय १९ जेठ २०७७ मा प्रतिमाको नाक भत्काइएको बताइएको छ । 

 

चुम्लुङ अध्यक्ष थेगिमले हस्ताक्षर गरिएको विज्ञप्तिमा सार्वजनिक सम्पत्तिको तोडफोडमा संलग्नलाई तत्काल खोजी गरी कानुनबमोजिम कारबाहीको माग गरे पनि आजसम्म कसैले चासो देखाएका छैनन् ।