close

भारतकाे जेलमा ४१ वर्षा विताएका तिम्सिनालाई माई नगरपालिकाको साथ

भारतकाे जेलमा ४१ वर्षा विताएका तिम्सिनालाई माई नगरपालिकाको साथ

Trulli
ADVERTISEMENT

इलाम- भारतमा ४१ वर्ष लामो जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनालाई माई नगरपालिकाले सहयोग खर्च दिने भएको छ । विराटनगरको मानव सेवा आश्रममा पु¥याइएका तिम्सिनालाई नगरपालिकाले आश्रम बसाइ खर्चबापत मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेको हो । 

 

सामान्य जीवनको लयमा फर्किंदै गरेका माई नगरपालिका वडा नम्बर १० लुम्बाकका तिम्सिनामा पछिल्लो समय मानसिक समस्या देखिन थालेकाले विराटनगरस्थित मानव सेवा आश्रममा राखेर उपचार गरिने उनका भतिज गोपालले जानकारी गराए ।


मानसिक स्वास्थ्यमा समस्या देखिन थालेपछि दुर्गाप्रसादलाई घरमा राखेर उपचार गर्न नसकिने अवस्था भएसँगै माई नगरपालिका, मानव अधिकार मञ्च इलाम र परिवारको पहलमा आश्रममा पुर्‍याइएको हो ।

 

आश्रममा तिम्सिनालाई स्वास्थ्यकर्मीको निगरानी र उपचारसहित राखिनेछ । यसअघि उनको उपचार विराट मेडिकल कजेलमा गरिएको थियो । उपचार प्रक्रियाले स्वास्थ्यमा खासै सुधार नआएको परिवारिक स्रोतले बताएको छ ।

 

परिवारमा दुर्गाप्रसादको आफ्नो परिवार नभएको, वृद्वा आमा, भाइ–बुहारी, फुपू भए पनि सबैमा स्वास्थ्य समस्या रहेकाले उनको हेरचाह र उचारमा समेत समस्या भएको भतिज गोपालले जनाए ।

 

तिम्सिना भारत कोलकातास्थित दमदम जेलबाट ७ फागुनमा रिहा भई ८ फागुनमा आफ्नो घर नेपाल आएका हुन् । अचानक गत आइतबार हराएका उनलाई प्रहरीले इलाम नगरपालिका वडा नम्बर १० को गोदक जौबारीमा फेला पारेको थियो ।

 

सुनुवाइ र क्षतिपूर्ति अन्योलमा, पहल गरिदिन परिवारको आग्रह

 

तिम्सिनाको जेल बसाइको सुनुवाइ र क्षतिपूर्तिको विषयसमेत अन्योलमा पर्न थालेको छ । परिवारले पहल गरे पनि मुद्दाको फैसला र क्षतिपूर्तिको विषयमा सरोकारवालाले ताकेता नगर्दा अन्योलमा परेको हो ।

 

जेल जीवनको सुनुवाइ र क्षतिपूर्तिको पहल अन्योलमा पर्दै गएपछि आवश्यक सहयोग गरिदिन परिवारले सरोकारवाला संघ–संस्थासँग आग्रह गर्न थालेको छ । 

 

लामो समय जेलमा बसेका तिम्सिनामा मानसिक र शारीरिक अवस्था ठीक नभएको भनी घरमा बसेर उपचार गर्न मात्र रिहा भएका उनको विषयमा दूतावासलगायत सरोकारवालाले ताकेता गरिदिनुपर्ने भतिज गोपालको आग्रह छ । 

 

कोलकाताको उच्च अदालतले परिवारले क्षतिपूर्ति मागे दिनू भनी पश्चिम बंगाल सरकारलाई आदेश दिएकामा कति क्षतिपूर्ति दिने भन्ने विषयमा छलफल गर्न बंगाल सरकार अदालतमा उपस्थित नभएको खबर आएपछि सम्पर्क गर्दा कोरोना महामारीले कारबाही अगाडि बनाउन नसकिएको जानकारी प्राप्त भएको भतिज तिम्सिनाले बताए ।


भतिज तिम्सिनाले कारबाहीको पहल गरिदिन परराष्ट्र मन्त्रालयमा केही दिन अगाडि निवेदन पठाएको जानकारी गराउँदै ६÷६ महिनामा दुर्गाप्रसादको अवस्थाबारे अदालतमा समेत जानकारी पठाउन नसकेको र खोजीसमेत नगरेको बताइएको छ ।