close

बर्सेनि बग्छ दर्लिङको कोसिलाबाँझ,  थातबासको पिरलोमा गाउँले

बर्सेनि बग्छ दर्लिङको कोसिलाबाँझ,  थातबासको पिरलोमा गाउँले

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ दर्लिङ कोसिलाबाँझकी समीक्षा विक पहिरोले बगाउने त्रास बढेपछि डेढ महिनाको सन्तान बोकेर घर छाडिन् । घर छाडेको एक साता भयो तर फर्किन सक्ने अवस्था छैन । 


अहिले गाउँछेउको जंगलनजिक एउटा टहरोमा जेनतेन बसेकी छन् । कोसिलाबाँझकै दुर्गाबहादुर विकले पनि पहिरोमा पुरिने डरले नै घर छाडेको निकै समय भयो । उनीसँग घर फर्कने स्थिति छैन र अन्यत्र बसेर गुजारा चलाउने उपाय पनि छैन । 

 

उनी पनि छिमेकीको खाली गोठमा बसिरहेका छन् । ‘अहिले बसेको गोठ पनि कतिबेला बगाउँछ टुंगो छैन,’ उनले भने, ‘गरिबलाई दैबले पनि सताउने रहेछ ।’ यी त दर्लिङ कोसिलाबाँझका दुई परिवारका मात्र कुरा भए । गाउँमा करिब ३५ घरपरिवार दलित बस्छन् । उनीहरू पहिरोको जोखिममा परेको वर्षौं भइसक्यो । ०७२ को भूकम्पपछि साउनमा गाउँमा चिरा परेको छ । ठूलो पानी आए गाउँका सबैको मुटुमा पहिरोले कति बेला लैजाने हो भनेर ढ्यांग्रो बज्छ । 


यस वर्ष पनि २ भदौको पानीले १२ परिवार विस्थापित भएका छन् । कोशिला बाँझका सबै घर पहिरोको अत्यन्त जोखिममा रहेको स्थानीय अगुवा रविन्द्र विश्वकर्माले बताए । 


सरकारले पनि कोशिला बाँझलाई बस्ती स्थानान्तरण गर्नुपर्ने गाउँको सूचीमा राखेको छ । तर, अहिलेसम्म स्थानान्तरणको कुनै पनि प्रक्रिया सुरु नै भएको छैन ।
पहिरोले पानीको मुहान बगाएको छ । गाउँले जहाँतहीँको पानी पिउँछन् । सडकको नाम निशान छैन भने गाउँमा बिजुली बाल्ने त सपनाको कुरा मात्र हो । 
राज्यका सबै स्रोतसाधन र सेवासुविधाको पहुँचबाट कोसौं टाढा रहेका कोशिला बाँझका दलित तथा विपन्न परिवार धेरै समस्या र पीडाबीच बाँच्न बाध्य रहेको गुनासो अगुवा विश्वकर्माले गरे । 


‘पहिरोले गाउँ विक्षिप्त भएको एक सातामा पनि प्रहरी मुचुल्का गर्न गाउँमा आएको छैन । झन् अरु सेवासुविधाको आस कसरी गर्ने,’ उनले भने, ‘कोशिला बाँझका दलित तथा विपन्नलाई तीनै तहका सरकारले उपेक्षा गरे ।’


गाउँ हिउँदमा काकाकुल बन्छ । अनि बर्खामा घर–घरमा पानी रसाएर पहिरोले कति बेला गाउँ नै बगाउने हो भन्ने त्रास । पानी परे भाग्ने ठाउँसमेत छैन । ०७२ साल साउनमा गाउँ नै पहिरोले बगाएपछि धेरै गाउँले विस्थापित भए ।


कोशिला बाँझबारे वडाध्यक्ष युद्धवीर घर्ती पनि जानकार छन् । उनले वडा स्तरबाट समस्या समाधान गर्न सम्भव पनि छैन । आक्कलझुक्कल कार्यपालिकामा छलफल भए पनि ठोस कार्ययोजना अघि नबढेको उनले बताए । उनले बर्षातमा समस्या हुने र पालिकाको चासो पनि बढ्ने तर हिउँद लाग्नासाथ सबैले बिर्सने गरेको गुनासो गरे । 


कोशिला बाँझमा स्थानीय, जिल्ला र केन्द्रीय स्तरका नेता भोट माग्न मात्रै पुग्छन् । अरु बेला गाउँ र गाउँलेका समस्या सोधपुछ गर्ने कोही नभएको गुनासो स्थानीयको छ । 
पहिरो समस्या समाधान गर्ने आश्वासन दिएर तीनै तहका नेताले ०७४ सालका चुनाव जिते । तर, त्यसपछि कुनै पनि नेता फर्किएर गाउँ पुगेका छैनन् । 
शिक्षा र स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक अवस्था त फेरिएन नै नेताहरूले कोशिला बाँझका बासिन्दासँग गरेका चुनावी बाचामध्ये एउटै पनि पूरा नगरेको गुनासो स्थानीय युवा युद्धवीर प्रतेलले गरे । 


‘सबैले आफ्नै स्वार्थ मात्र हेरे,’ उनले भने, ‘दलित, गरिब र विपन्नलाई दैवले पनि हेरेन,’ उनले भने, ‘प्रकृति र सरकार दुवैले अन्याय गरे ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अध्ययनअनुसार ०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका २ सय ९९ वटा बस्ती अत्यन्त जोखिममा छन् । 


भूगर्भविद्ले गुल्मी जिल्लाका ११ बस्तीको भौगर्भिक अध्ययन गरेका थिए । तीमध्ये ४ स्थानीय तहका ५ बस्ती स्थानान्तरणको सूचीमा राखिएको छ । भूगर्भविद्ले मालिका गाउँपालिका, धुर्कोट र गुल्मी दरबार गाउँपालिकाका एक÷एक र मदाने गाउँपालिकाका दुई बस्ती सार्नुपर्ने सुझाव दिएका छन् । अहिले प्राधिकरण बस्ती सार्ने तयारी भइरहेको बताउँछ । 

 

०७२ सालको भूकम्पपछि पहिरोको जोखिममा परेका बस्तीको अध्ययन गरेर स्थानान्तरण थालिएको थियो । अन्यत्र बस्ती स्थानान्तरण भए पनि मालिका–२ दर्लिङको कोशिला बाँझमा भने सिन्को पनि भाँचिएको छैन । मदाने गाउँपालिका–३ काफलपाटा र सिम गाउँका ३२ दलित घरपरिवारलाई नजिकै सारिएको छ । 
धुर्कोट–७ वाग्लाका १८ घरपरिवारलाई पनि अन्यत्र सार्ने काम लगभग सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख यज्ञ रिजालले जानकारी दिए । उनले कोशिला बाँझ स्थानान्तरणको सूचीमा भए पनि केन्द्रको प्राथमिकतामा नपरेकाले काम नभएको हुनसक्ने बताए ।

 

मालिका गाउँपालिका प्रमुख रितबहादुर थापाले आफू निर्वाचित भएपछि भूर्गभविद् ल्याएर मालिकाको वडा नम्बर २ र ८ का बस्तीको अध्ययन गरेको सुनाए । भूगर्भविद्ले नै सामान्य क्षय हुनेबाहेक ठूलो पहिरो नजाने भनेकाले आफूहरू अलमलमा परेको उनले बताए । 

 

खानेपानी र सडकका समस्या पालिकाले पानी रोकिएलगत्तै समाधान गर्न सक्ने भए पनि बस्ती सार्न फेरि स्थलगत अध्ययन गरेर संघ र प्रदेशसँग प्रयास गर्ने भनाइ थापाको छ ।