close

विपन्नमाथि दैवको आँखा !

विपन्नमाथि दैवको आँखा !

Trulli
ADVERTISEMENT

गुल्मी– गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ का राजु माझीको गत वर्ष घरमा ढुंगा खस्यो । श्रीमती विनिता माझीसहित ३ छोराछोरीले ज्यान गुमाए । माझी कामको सिलसिलामा परदेश थिए । घरमा कोही पनि रहेनन् । बाँकी जीवन केका र कसका लागि ! परिस्थितिले राजुलाई घर न घाटको बनायो । 


पछिल्लो घटनाकै सन्दर्भ । गत २७ साउनमा इस्मा गाउँपालिका वडा नम्बर ४ दोहलीका रामबहादुर गन्धर्वको घरमा चट्याङ प¥यो । रामबहादुर घाइते भए । ११ वर्षीय छोरा राहुल गन्धर्भलाई गुमाए ।


मानवीय क्षतिको पीडा गहिरो हुन्छ । त्यसैले राहुलका बाबा–आमा र दिदीबहिनीका आँखा अझै ओभाएका छैनन् । ‘बरु मलाई लगेको भए हुन्थ्यो । दुःखले हुर्काएको छोरा दैवले लग्यो । अझै सम्हालिन सकेको छैन,’ उनले भने, ‘अहिले पनि पानी परे ज्यान काप्छ ।’ 


सोही दिन रामबहादुर र छोरा राहुल घरमा सँगै थिए । पानीसँगै परेको चट्याङले बाबुछोरा सँगै ढले । केही बेरमा छिमेकी र आफन्तले अचेत बाबुछोरालाई दोहली स्वास्थ्य चौकी पुर्‍याए   ।


बाबुछोरा थप उपचारका लागि गाउँबाट तम्घास रेफर भए । गुल्मी अस्पतालमा आउँदा राहुलको सास थिएन । अचेत रामबहादुरलाई बाबुको अवस्था थाहा भएन ।

 
उनको अवस्था गम्भीर भएकाले डक्टरले पाल्पा पठाए । बुबाको उपचार भयो तर राहुल घर फर्किएनन् । केही दिनपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा राहत लिएर गन्धर्भको घरमै पुगिन् । कच्ची घर । सानो छोरासहितकी श्रीमती, दुई छोरीसहित उभिएका रामबहादुरको परिवारमा राहुल मात्रै थिएनन् । सिडिओ बोल्न थाल्नेबित्तिकै परिवारमा रुवावासी चल्यो ।


बुबा रामबहादुर रोए । छोरीले नरुन आग्रह गरिन् । जब छोरी पनि रुन थाले, गन्धर्भको घर पुगेका बाहिरका समेतको मन थामिएन । ‘दैव पनि गरिब विपन्नमाथि नै लाग्ने रहेछ । दुःखमा समवेदना बाँड्न राहत लिएर आएका हाँै,’ शर्माले भनिन्, ‘मन थामेर विपद्को सामना गर्नुको विकल्प छैन ।’


गत २७ साउनमा चट्याङका कारण मालिका गाउँपालिका वडा नम्बर २ पाटाखर्ककी २८ वर्षीया कमला पर्तेलले पनि ज्यान गुमाइन् । विपन्नको जीवन निकै कष्टपूर्ण छ । त्यो पनि विकट बस्तीमा भनिसाध्य छैन ।


त्यो दिन प्रतेल मेलाको काम गरेर घर आएकी थिइन् । साँझ साना छोराछोरीलाई खाना पकाउन थालेका बेला एक्कासि चट्याङ पर्‍यो  । बच्ने उपाय भएन ।प्रतेलको ज्यान गयो । भोका छोराछोरीलाई खुवाउनसमेत पाइनन् । श्रीमान् यमबहादुर पर्तेल मुग्लान छन् । आमाको मृत्युपछि घरमा ३ छोराछोरी अलपत्र छन् ।


जिल्लाका केही घटनाले दैवको आँखा गरिब तथा विपन्न परिवारमा बढी पर्ने देखिएको छ । चट्याङले ज्यान गुमाउने र गम्भीर घाइते सबै दलित परिवारका छन् ।केही समयअघि कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्बेनीस्थित सुनार गाउँका ५ घरगोठ आगलागीका कारण खरानी बने । केही वर्ष पहिले सत्यवति गाउँपालिका वडा नम्बर ४ लिम्घास्थित भीरकुनाको पहिरोमा ज्यान गुमाउनेहरू पनि अधिकांश दलितै थिए । 


अहिले पनि पहिरोले मालिका गाउँपालिका वडा नम्बर २ कोसिलाबाँझका ३५ घर दलित तथा विपन्न परिवार थात न बास भएका छन् । गाउँमा पानी, बिजुली छैन । सडकको नामोनिशान नभएपछि पीडामा कोसिलाबाँझका नागरिकले जीवन कटाएका छन् ।