close

मुसहर समुदायको आवास निर्माण ६ वर्षदेखि अलपत्र 

मुसहर समुदायको आवास निर्माण ६ वर्षदेखि अलपत्र 

Trulli
ADVERTISEMENT

राजविराज– जनता आवास कार्यक्रमअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर २ लबापुरमा ३० परिवार अतिविपन्न मुसहर समुदायको आवास निर्माण अलपत्र परेको छ । 

 

आवासविहीन दलित समुदायका लागि निःशुल्क पक्की आवास निर्माण सुरु भएको ६ वर्षभन्दा बढी भइसक्दा पनि एउटा घर पनि निर्माण नभएको हो ।

 

आर्थिक वर्ष २०७२/७३ मा स्वीकृत भएर मुसहर बस्तीमा आवास निर्माण सुरु गरिएको हो । जनता आवासको कार्यविधिअनुसार सो आवास सोही आर्थिक वर्षमा निर्माण हुनुपर्ने थियो । तर, ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।

 

तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हेर्दै आएको सो कार्य मुलुक संघीय संरचनामा गएसँगै प्रदेश मातहत रहेको सहरी विकास तथा भवन कार्यालय राजविराजलाई जिम्मेवारी हस्तान्तरण भएको छ ।

 

कार्यक्रम कार्यान्वयन गराउन जिल्लास्तरीय समन्वय समितिसमेत गठन भएको छ । तर, कार्यालय र समितिका पदाधिकारीको बेवास्ताका कारण ६ वर्ष बित्दासमेत यहाँको एउटा घर पनि निर्माण नहुँदा लाभग्राही निरास बनेका छन् ।

 

‘आवास स्वीकृत भएसँगै सरकारले राम्रो घर बनाइदेला र बसौँला भन्ने आशमा भएका झुपडी पनि भत्काइदिएँ,’ लाभग्राही दशन सदाले भने, ‘झुपडी भत्काएपछि २ वर्षसम्म घाम र कठ्यांग्रिदा चिसोको कहरसमेत खुला आकाशमुनि नै बिताइयो । अहिलेसम्म घर निर्माणको टुंगो छैन ।’

 

घर बनाइदिन सबैतिर भौतारिए पनि कहीँ–कतैबाट सुनुवाइ नभएपछि पैँचो सापटी र ऋण उठाएर पुनः झुपडी नै बनाउनुपर्ने बाध्यता आइलागेको उनले गुनासो गरे । 

 

अर्की लाभग्राही ललित सदाले निमुखा गरिबको पीडातर्फ कसैको ध्यान नपुगेको भन्दै आक्रोश पोखिन् । ‘हामी निमुखा गरिबलाई हेर्ने को छ हजुर ! सरकारी उदासिनताले पक्की घरमा बस्ने इच्छा पूरा नहुने भयो,’ उनले भनिन्, ‘हाम्रो समस्याप्रति जनप्रतिनिधिले पनि बेवास्ता गरे ।’

 

सहरी विकास तथा भवन कार्यालय राजविराजका सूचना अधिकारी तपेश्वरकुमार साहले पुरानो कार्यक्रम भएकाले प्रयास गर्दा पनि घर निर्माण गर्न नसकिएको प्रतिक्रिया दिए । पुनः स्थलगत अनुगमनपछि आवास निर्माण अघि बढाउने योजना रहेको उनको भनाइ छ ।