close

गरिबका लागि दसैँ : दशा आए बराबर 

मीठोमसिनो खान्गी र लुगाफाटा जोहो गर्नै सकस

गरिबका लागि दसैँ : दशा आए बराबर 

मीठोमसिनो खान्गी र लुगाफाटा जोहो गर्नै सकस

Trulli
ADVERTISEMENT

महोत्तरी– महोत्तरीको गौशाला नगरपालिकास्थित मुसहर समुदायकी पवित्रादेवी सादालाई दसैँ नजिकिँदै गर्दा चिन्ता पनि उत्तिकै बढ्दै गएको छ । छोराछोरीलाई नयाँ कपडा किन्नैपर्ने, अरूले जस्तै मीठो मसिनो खानैपर्ने जस्ता बाध्यताले पवित्रादेवी पैसाको जोहो गर्न आजकाल घर बनाउन ठाउँमा इँटा ओसार्न जान्छिन् ।
इँटा ओसारेर कमाएको पैसाले आफ्ना चार छोराछोरीलाई यसपालिको बडा दसैँलाई रमाइलो बनाइदिने उनको योजना छ ।

 

‘साहूजीलाई काम गरेको पैसा छिट्टै दिन आग्रह गरेकी छु । पैसा दिएपछि छोराछोरीलाई एक–एक जोर नयाँ कपडा किनिदिन्छु । थोरै मासु ल्याएर छोराछोरीलाई खुसी राख्नुपर्नेछ’, पवित्राले भनिन् ।

 

पवित्रादेवीजस्तै मुसहर समुदायकै सुनील सदालाई पनि दसैँ होइन, दशा आएजस्तो भएको छ । काम गरिखान उनलाई खुट्टाको समस्याले हिँडडुल गर्न गाह्रो हुन्छ । सरकारले दिएको अपांग भत्ता आउला र दसैँ मनाउँला भन्ने आसमा छन्, उनी ।


अघिल्लो दसैँमा सरकारले दिएको ८ हजार रुपैयाँले खुसीसहित दसैँ मनाएको सम्झना सुनीलसँग ताजै छ । ‘अब दसैँलाई खुसी बनाउने कि दुःखी । सबै सरकारको हातमा छ हजुर’, उनले भने ।

 

सुनीलका २ छोराछोरी छन । श्रीमती मित्रादेवी सदा दिनभर खाली सिसी, बोतल टिप्छिन् र बेलुकासम्म ४ सयदेखि ८ सय रुपैयाँसम्म जोहो गर्छिन् । त्यही पैसाले सन्तोष दम्पतीको बिहान–बेलुकाको छाक टर्ने गर्छ । मित्रदेवी सदा कहिलेकाहीँ काममा जान सक्दिनन् । काममा जान नसक्दा सुनील दम्पतीलाई बिहान–बेलुका परिवारको कसरी छाक टार्ने पिरलो बढ्ने गर्छ ।

 

मुसहर समुदायका पवित्रा र सुनीलजस्ता विपन्न र गरिब मात्र होइन, गरिखाने जोकोहीलाई पनि जब चाडपर्व सुरु हुन्छ, कसरी मनाउने भन्ने छटपटीले पिरोल्ने गर्दछ । 


महोत्तरीमा कोरोना कहरले काम गर्न नपाएका र रोजगारी गुमाएका लागि अझ ठूलो समस्या सिर्जना भएको छ । लामो समय कलकारखाना तथा व्यापारमा समेत चहलपहल नबढ्दा धेरैजसो मजदुर बेरोजगार तथा कामविहीन बनेकाले यसपालिको पर्व गरिब, विपन्नका लागि दशा बनेको छ ।

 

तथ्यांकअनुसार महोत्तरीमा कोरोनाकै कारण २५ प्रतिशतले रोजगार गुमाएको देखाएको छ । रोजगार गुमाउनेमध्य आधाभन्दा बढी वैदेशिक रोजगारमा पलायन भएका छन् भने आधा अझै कामको खोजीमा छन् ।

 

तराईमा दसैँभन्दा बढी छठलाई महत्त्व दिइने गरे पनि पछिल्लो समय पहाडी समुदायको बाक्लो बसाइँसराइसँगै दसैँ मनाउनेको संख्या बाक्लिँदै छ । दसैँ, तिहार, छठजस्ता ठूला पर्व लगालग आउने भएकाले पनि विपन्न तथा आर्थिक स्थिति कमजोर भएकाका लागि सकस बनिरहेको गौशालाका वडाध्यक्ष रामबाबु महतोको बुझाइ छ । दसैँलाई घाँटी हेरेर हाड निल्नुपर्ने बूढापाकाको उक्ति भए पनि पछिल्लो समय देखासिकीका कारण गरिब तथा मध्यम वर्गका लागि महँगो बन्दै गएका छन् ।