close

भुरेटाकुरे राज्यको इतिहास बचाउने पहल

भुरेटाकुरे राज्यको इतिहास बचाउने पहल

Trulli
ADVERTISEMENT

बागलुङ–भुरेटाकुरे राज्यको इतिहास बनेको भीमापोखरालाई संरक्षण गर्ने अभियानमा काठेखोलाका स्थानीय जुटेका छन् । उनीहरूले पुराना संरचना संरक्षण गर्ने काम थालेका छन् । काठेखोला गाउँपालिका वडा नम्बर २ र गण्डकी प्रदेश सरकारको लगानीमा गत वर्ष २० लाख रुपैयाँको काम भइसकेको छ । 

 

इतिहास संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने अभियानमा काम सुरु भएको वडाध्यक्ष विद्यापति शर्माले बताए ।  ऐतिहासिक कोटलाई पुनर्निर्माण, मर्मत र पदमार्गसहितको बनाउन थालिएको उनले जानकारी दिए ।  पर्यटक पु¥याएर गाउँमा चहलपहल बढाउने लक्ष्य पनि राखिएको छ । १८१५ मा भीमापोखरामा चौबीसे राजामध्येका दीर्घनारायण मल्ल र उनकी रानी भीमाले राज्य गरेको इतिहास छ । 


भीमारानी दरबारको भग्नावशेष पुनर्निर्माण गर्दा इतिहास पनि संरक्षण हुने, पर्यटन प्रवद्र्धन पनि गर्न सकिने गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।
पालिकाले यहाँ २ करोड रुपैयाँ लगानी लाग्ने गरी संरचना बनाउन सकिने डिपिआर बनाएको छ । ‘डिपिआरअनुसारको काम सक्न २ करोड रुपैयाँ चाहिन्छ, तर अहिले काम थालिएको मात्रै हो’, थापाले भने, ‘प्रदेश र संघीय बजेटको खोजी भएको छ । प्राप्त भए अर्को वर्ष केही भएको देखिनेछ ।’


 
पुनर्निर्माणको कामले ऐतिहासिक स्थलको संरक्षण, संस्कृतिको प्रवद्र्धन तथा पर्यटकीय गन्तव्य बनाउने योजना रहेको स्थानीय चन्द्रमणि उपाध्यायले बताए । भीमा रानीकै सम्झनामा यो गाउँलाई धेरै पहिलादेखि नै भीमापोखरा भनिएको उपाध्यायले बताए ।

 

श्रीमान्को मृत्युपछि १८४३ मा छोरा गणेशबम मल्ल राजा भएका थिए । मल्लकै शासनकालमा बहादुर शाह र अमरसिंह थापाको फौजले यो राज्य कब्जा गरेको इतिहास छ । राज्य विलयपछि भीमा रानीले पोखरी खनेको इतिहास छ । उक्त पोखरीकै नामबाट तत्कालीन गाविसको नामकरण भएको थियो । 

 

नेपालको ऐतिहासिक रूपरेखा नामक पुस्तक र सहप्राध्यापक विष्णु मैत्रेयको बागलुङको सेरोफेरो नामक कृतिमा पनि भीमापोखराको इतिहास लेखिएको छ । अग्लो पहाडमा पर्खाल लगाएको कोतघरजस्तो देखिने भीमापोखरामा अहिले पनि भग्नावशेष देख्न सकिन्छ । यहाँ कोठा र राजाको बैठक कक्षजस्तो आकृति अझै देखिन्छन् ।

 

‘इतिहास सम्झाउने दरबार भएकाले संरक्षण आवश्यक छ’, उपाध्यायले भने, ‘पर्यटकीय गन्तव्य बनेपछि गाउँमा आर्थिक समृद्धिको ढोका खुल्छ ।’ भीमापोखरा मध्यपहाडी लोकामार्गको अक्षेतेबाट ३० मिनेटको जिपको यात्रामा पुगिन्छ । यहाँ हाल कच्ची सडकले जोडिएको छ । ‘सडक विस्तार र स्तरोन्नतिको योजना पनि छ । त्यसले पर्यटक भित्र्याउन सहयोग पुग्छ’, वडाध्यक्ष विद्यापति शर्माले भने, ‘पदमार्गमार्फत आउनेलाई पनि वैकल्पिक मार्ग बनाउन काम थालिसकियो ।’ पदमार्ग निर्माणले पर्यटक बढाउने उनले बताए ।


कोत, घन्टाघर, सुरक्षाकर्मीले पहरा दिने कोठा र चोक भएकाले भग्नावशेषलाई दरबारकै रूपमा उठाउनुपर्ने योजना बनेको शर्माले जानकारी दिए । गाउँपालिकाले भीमापोखराहुँदै धम्जा, तंग्राम, बिहुँतर्फको पहाडी करिडोर रेखांकन गरेको छ । वडा नम्बर १ को पाला, कालीमाटी हँुदै सदरमुकाम जोड्ने सडक पनि स्तरीय बनाउने काम सुरु भएको छ ।