close

बागलुङमा मनाइयो प्रहरी दिवस

बागलुङमा मनाइयो प्रहरी दिवस

Trulli
ADVERTISEMENT

बागलुङ– ६६औँ प्रहरी दिवस अबसरमा बागलुङमा विविध कार्यक्रम सम्पन्न भएका छन् । बुधबार मूल समारोह गरेको बागलुङ प्रहरीले खेलकुद प्रतियोगिता र सरसफाइ अभियानसमेत सञ्चालन गरेको थियो । 


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले शान्ति–सुरक्षा र जनताको सेवामा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरे । उनले अपराध अनुसन्धानमा नेपालको प्रहरी अब्बल भएकोसमेत बताए ।

 

‘प्रहरीले शान्ति–सुरक्षा र अनुसन्धान गरेकै कारण प्रशासन र राज्य सफल भएको छ,’ उनले भने, ‘अझै प्रहरीको क्षमता बढाउने र अभाव भएका दरबन्दी पूरा गर्नेतर्फ पनि राज्यको ध्यानाकर्षण हुनुपर्छ ।’ बागलुङमा पनि धेरै दरबन्दी खाली छ । 

 

कार्यक्रममा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जिल्लाको शान्ति–सुरक्षासँगै प्रहरी मेरो साथी, मुस्कानसहितको सेवा र सीमित साधन–स्रोतबाट जनहितमा पनि काम गरेको बताए । 


कानुनी साक्षरता र सचेतना अभियान, ट्राफिक नियमन, सवारी दुर्घटनामा उद्दार तथा अन्य दैवीप्रकोप र विपद् व्यवस्थापनका काममा पनि निरन्तर खटिँदै आएको उनले जानकारी दिए । 

 

प्रहरी उपरीक्षक पल्ली मगरको अध्यक्षता, प्रहरी निरीक्षक विजय भण्डारीको सञ्चालन र प्रहरी नायब उपरीक्षक इकवाल हवारीको स्वागतमा सम्पन्न कार्यक्रममा पूर्वप्रहरीको तर्फबाट टीकाबहादुर कार्कीले प्रहरीको योगदानको चर्चा गरे । उक्त अवसरमा प्रहरी महानिरिक्षकले पठाएको शुभकामना–पत्र पढेर सुनाइएको थियो । त्यस्तै, अमर प्रहरीको तस्बिरमा फूलमाला लगाएर उनीहरूको स्मरणसमेत गरिएको थियो । 

 

प्रहरी दिवस अवसरमा विविध खेलकुदसमेत आयोजना भएको थियो । भलिबल, ब्याडमिन्टन र दौड प्रतियोगिताका विजयी टिम तथा खेलाडीलाइ पदकले पुरस्कृत गरिएको थियो ।


उत्कृष्ट कार्यसम्पादन गरेकामा सूचना अधिकारी इकवाल हवारीसहित इलाका प्रहरी कार्यालयका निरीक्षकहरू र जवानसमेत गरी ११ जनालाई सम्मान र पुरस्कार दिइएको थियो ।