close

मुख्यमन्त्री शाहीले गरे बाढीपीडितलाई डेढ सय घर हस्तान्तरण

मुख्यमन्त्री शाहीले गरे बाढीपीडितलाई डेढ सय घर हस्तान्तरण

Trulli
ADVERTISEMENT

हुम्ला–गत वर्षको बाढीले भत्काएर घरबारविहीन भएकालाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १५० घर हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेश सरकारको सहयोगमा निर्माण भएका १ सय ५० घर मुख्यमन्त्रीले बाढीपीडितलाई हस्तान्तरण गरेको ताँजाकोट गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष प्रसान्त धमलालले बताए । 


गत वर्ष ताजाँकोट गाउँपालिकामा करिब ३ सय ८० घर बाढीले भत्काएको थियो । भत्किएका १५० घर प्रदेश सरकारले बनाइदिएर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । घर हस्तान्तरण गर्न हेलिकोप्टरमार्फत ताजाँकोट आएका मुख्यमन्त्री बाँकी रहेका सबै घर यसै आर्थिक वर्षमा निर्माण गर्ने प्रतिबद्धता जनाए ।


मुख्यमन्त्री शाहीले ताँजाकोटको विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्रथामिकता दिने, यसै वर्ष सबै गाउँमा सडक पुर्‍याउन उचित बजेट व्यवस्था गर्ने, महिला सहकारीमा बजेटको व्यवस्था गर्ने र छोरी खातालाई प्राथमिकता दिने घोषणा गरे । प्रतिघर ५ लाख रुपैयाँका दरले निर्माण गर्न दिइएकामा केहीले सम्पन्न गरिसकेका छन् भने कसैको अन्तिम चरणमा पुगेको छ ।


रकम सम्बन्धित व्यक्तिको खातामा आइसकेको र घर निर्माण पूरा नहुन्जेल सबै खाता गाउँपालिकाले रोक्का गरेको वडाध्यक्ष धमललाले जानकारी दिए । पहिलो किस्ता २ लाख ५० हजार रुपैयाँ निकासा गरी घर बनाइरहेकाले निर्माण सम्पन्न गर्नेबित्तिकै सबै रकम भुक्तानी गरिने उनको भनाइ छ । गाउँपालिका अध्यक्ष बागदल मल्लले हस्तान्तरण गरिएका घर पाएपछि बाढी प्रभावितलाई स्थायी बासका लागि सहज हुने विश्वास व्यक्त गरे ।  कर्णाली प्रदेश सरकारले १ सय ५० घर निर्माण गर्न ७ करोड ५० लाख बराबर खर्चिइने कार्यक्रममा जानकारी दिइएको थियो ।