close

दिलीपका परिवारले अझै पाएनन् न्याय

अवैध उत्खननविरुद्ध बोलेपछि क्रसर माफियाले गरेका थिए हत्या 

दिलीपका परिवारले अझै पाएनन् न्याय

अवैध उत्खननविरुद्ध बोलेपछि क्रसर माफियाले गरेका थिए हत्या 

Trulli
ADVERTISEMENT

महोत्तरी–धनुषाको मिथिला नगरपालिकाकी संगम महतो न्यायका लागि अहिले पनि जिल्ला र पालिकामा धाउँदा–धाउँदै हैरान छन् । पालिका र जिल्लामा उनलाई आश्वासन दिइन्छ, हामी तपाईंलाई न्याय दिन लागिपरेका छौँ । जनप्रतिनिधिले संगमका लागि काम गरेका छन्/छैनन्, उनै जानून् । तर, संगमले आश्वासनकै कारण आसचाहिँ मारेकी छैनन् ।


२५ पुस २०७६ राती झिसमिसेमै नदी उत्खनन रोक्न गएका संगमका दाइ दिलीप महतोलाई क्रसर माफियाले बालुवामा पेलेर हत्या गरे । पर्यावरणलाई जोगाउनुपर्छ भन्ने उद्देश्यले क्रसर माफियाको विरोधमा उत्रिएका महतोको अभियानले अप्ठेरो बन्ने स्थिति सिर्जना भएपछि योजनाअनुसार नै उनीहरूले निर्ममतापूर्वक हत्या गरिएको थियो ।

 

महतो इन्जिनियर सकेर प्रमाणपत्रको पर्खाइमा थिए । क्रसर माफियाको जथाभावी नदी उत्खननले पर्यावरणमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै महतो समुदायलाई जागरुक बनाएर अभियानमै लागेका थिए । त्यसको परिणामस्वरूप अल्पायुमै ज्यान गुमाउनुप र्‍यो  । परिवारमा १३ जना सदस्यमध्य कमाउने उमेर भएका महतो नै थिए । अहिले आर्थिक रूपमा महतोको परिवारलाई ठूलो संकट छ । 


परिवारको सदस्यमा अलि पढेलेखेकी उनी बहिनी संगम हुन् । योजनाअनुसार नै दाइको हत्या भएको उनको दाबी छ । परिवारले किटानी जाहेरी दिएका अभियुक्तमध्ये विपिन महतो साधारण तारेखमा छुटेका छन् ।


दाइको हत्याको मुख्य योजनाकार को थियो भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको संगम बताउँछिन् । शक्तिको आडमा अपराधीले संरक्षण पाएकै कारण न्याय पाउन नसकेको संगमको बुझाइ छ । ‘बारम्बार जिल्लामा जाँदा पैसा पनि  हुँदैन  । धाउँदा–धाउँदा हैरान बनिसकियो तर न्याय पाउने अत्तोपत्तो छैन’, उनले भनिन् ।

संगमकी ७० वर्षीया हजुरआमाको अहिले पनि आफ्नो नातिलाइ सम्झिँदा आँसु रोकिँदैन । ‘साह्रै मायालु थियो । उसैको आसमा बाँचेका थियौँ । अपराधीलाई कहिल्यै फलिफाप नहोस्’, उनी भन्छिन् । वरपरका छिमेकीहरू पनि दिलीपलाई सम्झिँदा निकै भावुक हुन्छन् । छिमेकको मनमा लाग्छ, पापीहरूलाई किन सजाय भएन !

 

दिलीपले पर्यावरण जोगाउँदा–जोगाउँदै ज्यान गुमाए पनि सरकारी तवरबाट परिवारलाई सहानुभूति मिल्ने गरी कुनै काम भएको छैन । बरु गैरसरकारी संस्थाहरूले परिवारमा गएर बेला–बेला भेटछन्, सक्दो सहयोग पनि गर्छन् । पालिकाले परिवारलाई राहत मिल्ने गरी कुनै काम गर्न सकेको छैन । कहिलेकाहीँ संगम पालिका प्रमुख हरि मण्डललाई भेट्न जान्छिन् । त्यहाँबाट पनि उनले आश्वासनबाहेक अहिलेसम्म केही पाउन सकेकी छैनन् ।

 

बरु दिलीप महतो पर्यावरण प्रतिष्ठान स्थापना गरेर पर्यावरण संरक्षणका लागि केही गैरसरकारी संस्थाहरूले महतोको योगदानलाई स्मरणीय बनाउने प्रयास गरेका छन् । कहिलेकाहीँ संगमलाई आफ्नो दाइको हत्या गराउन सरकारी कर्मचारीको पनि हात भएजस्तो लाग्छ । यसको कारणचाहिँ उनलाई सरकारी तवरबाटै बेवास्ता हुने गरेको छ । संगम र उनको परिवारको एउटै माग छ, अपराधीलाई हदैसम्म कारबाही होस् ।


महतो हत्याका मुख्य योजनाकार ३ वर्ष बितिसक्दा पनि पत्ता लाग्न नसक्नु र हत्या गर्नेहरू आँखै अगाडि खुला हिँडदा पनि कुनै कारबाही हुन नसक्नुले यतिबेला महतोको परिवारमा थप पीडा थपिएको छ ।

 

परिवारले किटानी जाहेरी दिएका कतिपय अहिले थुनामा छन् भने कतिपय साधारण तारेखमा छुटेका छन् । हत्यामा यथेष्ट प्रमाण भए पनि अदालतले समेत न्याय नदिएको संगमको गुनासो छ । 


अहिले पनि धनुषा र महोत्तरीको सिमानामा पर्ने रातु नदीको किनारबाट नदीजन्य वस्तु उत्खनन हुँदै आएको छ । उत्खननकै कारण रातु नदीको तटीय क्षेत्रमा बसोबास गर्ने कतिपय स्थानीय घरबारविहीन बन्नुपरेको अवस्था छ । क्रसर माफिया नदीजन्य वस्तुको उत्खननदेखि पर्यावरण विनाशमा सक्रिय हुँदै आए पनि सरोकारवाला निकाय चुप छन् ।