close

हुम्लाको खार्पुनाथमा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गयो 

निरन्तरको वर्षाले बालीनालीसहितको जग्गाजमिन र भौतिक संरचनामा करोडौँको क्षति 

हुम्लाको खार्पुनाथमा पहिरोले घर पुरिँदा ६ जनाको ज्यान गयो 

निरन्तरको वर्षाले बालीनालीसहितको जग्गाजमिन र भौतिक संरचनामा करोडौँको क्षति 

Trulli
ADVERTISEMENT

हुम्ला– लगातारको वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ खर्पेलगाउँमा ६ जनाको ज्यान गएको छ । खर्पेलगाउँस्थित बिचदउडामा रहेको धनवीरे शाहीको घरमा मंगलबार राती पहिरो खसेपछिउनीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोरा पुरिएका थिए ।


घरपछाडिबाट आएको पहिरोले पुरिएर एकै घरका ६ जना बेपत्ता भएको स्थानीय स्थानीय हर्क शाहीले जानकारी दिएका थिए । रातीको समय उद्दारमा कठिनाइ भए पनि पछि संयुक्त सुरक्षा टोलीले खोज्दै जाँदा ६ जना मृत अवस्थामा भेटिएको स्थानीय पत्रकार जनकबहादुर शाहीले बताए ।


सर्कगाड गाउँपालिकाको बराईमा ११ घर निरन्तरको वर्षाका कारण पहिरोको जोखिममा रहेका छन् । ३ दिनदेखि परेको अविरल वर्षाले गाउँ माथिबाट पहिरो आउँदा घरबस्ती जोखिममा परेको स्थानीय भक्तबहादुर ऐडीले जानकारी दिए ।


अदानचुली गाउँपालिका वडा नम्बर ५ करगईका गगन सिंह, धनलाल शाहीको घर भत्किएको छ भने पुनलाल शाही, जय छत्याल, धनराजे छत्याल, जना छत्याल, कन्न छत्याल र धनबहादुर शाहीको घर जोखिममा परेको स्थानीय अंगबहादुर शाहीले बताए ।

 

निरन्तरको वर्षाका कारण वडा नम्बर ५ कै बारीगाउँका ५ घर भत्किएका छन् । नरेन्द्र रावल, मंगल रावल, सागर बोहरा, हरिचन्द ऐडी र मनबहादुर ऐडीको घर भत्किएको स्थानीय सिंह बोहराको भनाइ छ । अदानचुली वडा नम्बर ५ कै लमहीमा अमृत टमटाको घर पूर्ण रूपमा भत्किएको छ ।


अदानचुली वडा नम्बर ४ मा ५ घर भत्किएका छन् भने वडा नम्बर ३ मा रहेको महिला सामुदायिक भवन पनि भत्किएको श्रीनगर प्रहरी चौकीका इन्चार्ज कृष्ण बुढाले बताए । उनका अनुसार कल्खेमा धनलाल भियालको घर पनि भत्किएको छ ।


अदानचुली गाउँपालिका वडा नम्बर १ मा रहेको जनकल्याण आधारभूत विद्यालयको भवन भत्किँदा १ नम्बर वडा कार्यालय राखिएको भवन र सामुदायिक स्वास्थ्य इकाइ पूर्ण रूपमा क्षतिग्रस्त भएको जनकल्याण आधारभूत विद्यालयका शिक्षक मानबहादुर महताराले जानकारी दिए ।


वडा नम्बर १ का वडाध्यक्ष रग थापाको गेरुखानीको घर पनि भत्किएको छ भने दशरथ महताराको घर भत्किन थालेपछि अन्यत्र बसाइँ सरेका छन् । सर्केगाड वडा नम्बर १ तुम्चमा रहेको कुइझार तुम्च खानेपानी आयोजना अवरुद्ध बनाएको छ भने दन्तराज कटुवालको घर भत्काएको छ । 


निरन्तरको वर्षाले बालीनालीसहितको जग्गाजमिन पूरै क्षतविक्षत बनाएको छ भने सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । सानातिना गोरेटा बाटा पनि पूरै भत्किएका छन् । कतै रूख ढलेर सडक अवरुद्ध भएका छन् भने कतै भत्किएका र कतै खोलाले सबै बगाएर लगेको छ ।


अधिकांश स्थानीयका घर निरन्तरको वर्षाका कारण भत्किएपछि रातभर जाग्राम बस्नुपरेको छ । बालीनाली सबै बगाएर लगेपछि कसरी खाने, बस्ने भन्ने चिन्तामा किसान छन् ।