close

हराउँदै पुरानो प्रविधि

हराउँदै पुरानो प्रविधि

Trulli
ADVERTISEMENT

मालिका गाउँपालिका–२ दर्लिङ स्यालपानीका दुर्गा पाण्डेयले १२ वर्षअघि दुई वटा पानीघट्ट सञ्चालन गरेका थिए । दर्लिङका साढे दुई सय घरपरिवारले यस घट्टबाट कोदो र मकै पिसाउँदै आएका छन् । एउटा घट्टले दिनभरमा १० देखि १२ मुरी मकै र कोदो पिस्छ । पर्याप्त पानी भए घट्ट २४ घण्टा चलाउन सकिन्छ । दिउँसो मात्रै नभएर राति पनि घट्ट चलाउने गरेको सञ्चालक पाण्डेयले बताए । ‘नजिकैको खोलाबाट पानी ल्याएको छु,’ उनले भने, ‘पहिले डुँडबाट पानी ल्याउनुपर्ने झन्झट थियो । अहिले पाइपबाट पानी ल्याएर घट्ट चलाएको छु ।’ 


मालिका गाउँपालिका–३ ह्वाङदीका वेदबहादुर बुढामगरकोमा पनि १७/१८ वर्षदेखि पानीघट्ट छ । उनका बुबा झमानसिहं बुढामगरले घट्ट चलाउँथे । वेदले बुबाले सञ्चालन गरेको परम्परागत प्रविधिलाई निरन्तरता दिइरहेका छन् । उनले घट्टसँगै आधुनिक मिल पनि सञ्चालन गरेका छन् । ‘दुवैका ग्राहक उत्तिकै छन्,’ उनले भने, ‘बर्खामा पानी प्रशस्त हुँदा घट्ट र हिउँदमा मिल चलाउँछु ।’


घट्टमा पिसेको पिठो लामो समय नबिग्रने र स्वादिष्ट हुने भएकाले धेरैले मनले मन पराउने उनले बताए । प्रतिपाथीका दरले कोदो, मकै पिसेको छ रुपैयाँ लिने गरेका छन् । 


कुनै बेला कुटानी, पिसानीका लागि महत्वपूर्ण मानिएका पानीघट्ट, ढिकी, जाँतो, कोल र विभिन्न हतियार बनाउने आरन प्रविधिको विकाससँगै संकटमा परेका छन् । जिल्लाको पश्चिमी क्षेत्र ह्वाङदी, अग्लुङ, अर्खवाङ, छापहिले, दलिङ, नेटालगायत केही स्थानमा गाउँभरि नै पानीघट्टबाट कुटानी, पिसानी हुन्थ्यो । तर, पछिल्लो समय पानीघट्ट हराउँदै गएको प्रेमबहादुर घर्तीले सुनाए । ‘पहिला गाउँमा एक दर्जनभन्दा बढी घट्ट थिए,’ उनले भने, ‘अहिले तीन÷चार वटा मात्रै छन् ।’ 


धुर्कोट गाउँपालिका–५ वस्तुकी ८० वर्षीया हरिकला पोख्रेलले सानैदेखि ढिकी, जाँतो गरेकी हुन् । ‘बिहाने ३ बजे उठेर ढिकी, जाँतो गथ्र्यो,’ उनले भनिन्, ‘ढिकी, जाँतोमा कुटेपिसेको मन पथ्र्यो । लामो समय पनि टिक्थ्यो ।’ अहिले उनको घरमा जाँतो मात्रै छ । ‘त्यो पनि कहिलेकाहीँ दाल पिस्न प्रयोग गरिन्छ,’ उनले भनिन्, ‘बूढाबूढीसँगै ढिकी, जाँतो पनि हराए । नयाँ प्रविधिले मान्छेलाई सुखभोगी बनायो । दुःख कसले गरोस् ?’


गाउँमा अझै पनि पुराना कोल भेटिन्छन् । इस्मा गाउँपालिका–४ दोहलीको ढुग्यानामा अझै पनि पुरानो काठको कोल छ । जसलाई कोलडाँडा पनि भनिन्छ । त्यसको प्रयोग हुन छोडेको झण्डै चार दशक भए । स्थानीय ८९ वर्षीय श्यामलाल अर्यालका अनुसार त्यो कोल करिब ५०÷६० वर्ष पुरानो हो । २०४५÷२०५० सालसम्म कोलमा तोरी पेल्ने गरिन्थ्यो । ‘गाउँमा तोरी पेल्ने अरू विकल्प थिएन,’ उनले भने, ‘कोलमा दिनमा १५÷१६ पाथीसम्म तोरी पेल्ने गरिन्थ्यो । पानी र बिजुलीबाट चल्ने मिलको विस्तार भएपछि कोल चलाउन छोडियो ।’ 


इस्मा गाउँपालिका–५ का दुजमान विकको आरन छ । उनको आरन गाउँको सबैभन्दा पुरानो हो । पहिला इस्मा गाउँपालिका ४ र ५ का अधिकांश मानिस हँसिया, कोदालो, खुकुरी र अन्य हतियार बनाउन उनकोमा आउँथे । आरनकै भरमा सात/आठ जनाको परिवार पाले । वर्ष दिन काम गरेबापत गाउँमा मकै, कोदोलगायत अन्न उठाउँथे ।


प्रविधिको विकाससँगै उनको काम संकटमा परेको छ । ‘मपछि मेरा छोराहरू कसैले आरन चलाउँदैनन्, सबै लाखापाखा भए,’ उनले भने, ‘नयाँ प्रविधि भित्रिएकाले खासै काम पनि छैन ।’