close

१५ वर्षअघि १० जनाको ज्यानसहित घर बग्यो : बाँचेकाको त्रिपालमुनि बास 

१५ वर्षअघि १० जनाको ज्यानसहित घर बग्यो : बाँचेकाको त्रिपालमुनि बास 

Trulli
ADVERTISEMENT

बैतडी– ९ भदौ २०६३ राती १२ बजे अविरल वर्षाका कारण बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ टाक गाउँको एकै परिवारका १० जनाले ज्यान गुमाए । वर्षाका कारण २ घर भत्किएपछि त्यस दिन घरमा नभएका व्यक्ति बाँचेका थिए । उतिबेला मृतकका आश्रित परिवारलाई प्रतिमृतक १५ हजारका दरले १ लाख ५० हजार रुपैयाँ दिइयो थियो ।


त्यसबाहेक उनीहरूले कतैबाट केही सहयोग पाएनन् । भत्केको घर नजिकै झुप्रोमा बास बस्दै आएका थिए । उनीहरू बस्दै आएको घर अहिले जीर्ण भइसकेको छ । कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण बाँकी रहेको उक्त घरसमेत पहिरोको जोखिममा परेको छ । अहिले पीडित डम्बरराम महरको ७ जनाको परिवार त्रिपालमुनि बस्दै आएको छ । 


पीडित महरले भने, ‘२०६३ मा म बझाङमा रहेकाले बाँचेको हुँ । ठूलाबुबा र दाइको परिवारको पहिरोमा पुरिएर मृत्यु भएको थियो । मेरो छोरीसहित ४ जना गभ्मीर घाइते भए । छोरी पदमालाई २ दिनपछि पहिरोबाट निकालिएको थियो ।’


छोरीको नशा च्यापिएकाले अहिले पनि दैनिक औषधी खुवाउनुपर्ने र हरेक २ महिनामा भारतको बरेली अस्पताल लग्नुपर्छ । त्यो पीडा एकातिर छँदै थियो । रतर, यसपालिको वर्षाले महरको ४ रोपनी जमिन बगरमा परिणत गरिदिएको छ भने घर जीर्ण छ । अहिले त्रिपालमुनिको बास भएकाले पानी परेको दिने उभिएरै रात कटाउनुपर्ने अवस्था रहेको उनले सुनाए । 

 

जनता आवास कार्यक्रममार्फत घर निर्माणका लागि निवेदन दिए पनि आफू छनोटमा नपरेको उनले बताए । महरले भने, ‘२ पटक जनता आवास कार्यक्रमका लागि निवेदन आह्वान हुँदा निवेदन दिएको छु । अन्यत्र मभन्दा कम पीडा भएका व्यक्ति छनोट हुन्छन् । मेरो निवेदन स्वीकृत भएको छैन । पहिलाको बाढीमा बचेको खेतसमेत अहिले बगेकाले घर बनाउने ठाउँसमेत छैन । छोरी हेमाको परिवार पनि माइतमै रहेकाले उनको समेत मैले गासबासको व्यवस्था गर्नुपरेको छ ।’


छोरी हेमाका पतिको मृत्यु भइसकेको छ ।  २०६३ को घटना हुँदा २ दिनपछि पहिरोबाट निकालिएकी महरकी घाइते छोरी पदमा अझै उपचारको क्रममा छिन् । उनलाई हरेक २ महिनामा उपचारका लागि भारतको बरेली लग्नुपर्छ । 


उतिबेला कहिले महर, छोरा विश्राम र बुहारी लक्ष्मी तथा नातिनातिनी भुवनेश्वर, रेखा, चिना, शंका र पिंकीको ज्यान गएको थियो । २०६३ मा महर परिवारका २ घर भत्किएका थिए । एक ढलान घर र अर्को ८ कोठे छानो भएको घर भत्किएको थियो । यो वर्षको बेमौसमी वर्षामा बाँकी रहेको घर र सबै खेतबारी पहिरोले लगेपछि महर परिवारको विचल्ली भएको छ । 


अहिले महर राहतको खोजीमा दैनिक जिल्ला सदरमुकाम धाउने गरे पनि सुनुवाइ नभएको बताउँछन् । उनले वडादेखि नगरपालिका, प्रहरी, जिल्ला प्रशासन कार्यालयलगायत सबै ठाउँमा आफ्नो पीडा सुनाइसकेका छन् । पीडामाथि पीडा थपिएका महर परिवारको समस्या हालसम्म समाधान हुन सकेको छैन ।