close

आफ्नै काकाको सामूहिक हत्या योजनाकार गिरी १६ वर्षपछि पक्राउ 

आफ्नै काकाको सामूहिक हत्या योजनाकार गिरी १६ वर्षपछि पक्राउ 

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरा प्रहरीले सामूहिक हत्याका मुख्य अभियुक्त भरत गिरीलाई १६ वर्षपछि पक्राउ गरेको छ । हत्या गरेर फरार रहेका गिरीलाई भारतको उत्तराखण्डमा पर्ने अल्मोडाबाट १० फागुनमा प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चर्तुभुज ओझाले बताए ।

 

४० वर्षीय गिरी नेपालको परिचय खुल्ने सबै प्रमाण नष्ट गरेर भारतीय रासन कार्ड लिएर लुकीछिपी बसेका थिए । उनलाई सुराकीका आधारमा १६ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए  अभियुक्त गिरीलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

 

गिरीसहितका दर्जन बढी युवा मिलेर ४ माघ ०६३ मा सामूहिक हत्या गरेका थिए । गाउँकै नाता पर्ने बहिनीसँगको अवैध सम्बन्धबारे थाहा पाएको रिसले रुखमा बाँधेर २४ वर्षीय नवराज गिरीको सामूहिक हत्या गरिएको थियो । निजका आमाबुबालाई कुटपिटसमेत गरिएका थियो ।

 

सामूहिक हत्यामा संलग्नमध्ये ९ जनाले प्रकृतिअनुसारको कैद सजाए भोगिसकेका भए पनि मुख्य अभियुक्त गिरी भने फरार थिए । भारतबाटै हत्या गरिएका गिरीको परिवारलाई पेस्तोल ल्याएर मार्ने र वंश नाश गर्ने धम्की दिँदै आएका गिरी पक्राउ पर्नु बाजुरा प्रहरीको ठूलो सफलता हो ।

 

साँझ ७ः३० बजेको समय ६ महिनाकी नाबालिका छोरीलाई काखमा च्यापेर सुतिरहेका बेला पुकार खान पसल जान बाध्य पारेर रुखमा बाँधी, भाला, खुँडा, खुकुरी, लाठी प्रयोग गरी नवराजको हत्या गरिएको थियो । शरीर नै टुक्रा–टुक्री पारी यातनासहित हत्या गर्ने मुख्य अभियुक्त गिरीलाई सर्वस्वसहित जन्मकैद सजाय तोकिएको छ ।

 

तत्काल १२ जनामाथि किटानी जाहेर गरिए पनि १० जनाको संलग्नता रहेको अदालतबाट पुष्टि भएको थियो । बाजुरा जिल्ला अदालतले ४ माघ ०६८ मा मुद्दाको फैसला गरी मुख्य अभियुक्त गिरीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
उच्च अदालत दियापल र सर्वोच्च अदालतले पनि सोही फैसला सदर गरेको छ । इन्टरपोलसँगको समन्वयमा पक्राउ परेका गिरीलाई शुक्रबार नै जेल चलान गरिएको छ । 

 

नवराजको हत्यापछि सिंगो परिवार त्रासमा रहेको र त्यही चिन्ताका कारण आमाबुबाको समेत अकालमै ज्यान गएको थियो ।
जेल भुक्तान गरेर गएकाले समेत हालसम्म धम्की दिने गरेको मृतक नवराजकी भाउजू तारा गिरीको गुनासो छ । ‘सिंगो परिवारको विचल्ली भयो । न्यायका लागि आउँदा पनि उल्टै धम्की दिने काम भयो । त्यो अहिले पनि कायमै छ’, प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भाउजू ताराले रुँदै भनिन् ।’ 

 

सोही घटनाले सिंगो कालापानी गाउँ नै भयभीत बनेको थियो । अपराधी कानुनको दायराभन्दा बाहिर जान सक्दैन भन्ने बलियो प्रमाण १६ वर्षपछि मुख्य अभियुक्त पक्राउबाटै प्रमाण गर्न सफल भएको प्रहरी नायव उपरीक्षक ओझाले बताए ।

 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाजुराले पछिल्लो समय प्रहरीले सम्पादन गरेको कामको प्रगतिबारे पनि जानकारी गराएको थियो ।