close

छाउपडी प्रथा निर्मूल पार्न बडीमालिकाले थाल्यो धामी–झाँक्री र पुरोहितसँग छलफल

छाउपडी प्रथा निर्मूल पार्न बडीमालिकाले थाल्यो धामी–झाँक्री र पुरोहितसँग छलफल

Trulli
ADVERTISEMENT

बाजुरा–बाजुराको बडीमालिका नगरपालिकाले कुप्रथाको रूपमा रहेको छाउपडी हटाउन धामी, झाँक्री र पुरोहितसँग छलफल सुरु गरेको छ । समाजमा जकडिएर रहेको छाउपडी र बालविवाह अन्य गर्न छलफल चलाइएको बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले जानकारी दिइन् ।

 

उपप्रमुख विष्टको संयोजकत्वमा ८ फागुनमा गरिएको छाउगोठ अनुगमनलगत्तै ९ फागुनमा बसेको समीक्षा बैठकबाट धामी, झाँक्री र पुरोहितसँग छलफल चलाइएको नगरपालिकाले बताएको छ । महिनावारी भएको समय घरभित्र बस्दा देउता रिसाउने र अनिष्ट हुने अन्धविश्वास रहेको र यसमा धामी, झाँक्रीको मुख्य भूमिका हुने भएकाले छलफलमार्फत जनचेतना जगाउन कार्यक्रम आयोजना गरिएको उपप्रमुख विष्टले बताइन् ।

 

समाजमा बालविवाह पनि व्याप्त रहेकाले त्यसको अन्त्यका लागि विवाह जुराउने पुरोहितलाई कानुनी व्यवस्था र बिहे गराएबापत पाउने सजायबारे जानकारी गराइएको छ ।

 

महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत बडीमालिका नगरपालिका वडा नम्बर २ र ८ वडालाई अन्तर्राष्ट्रिय नारी दिवस अवसर पारेर २४ फागुनमा छाउपडी गोठमुक्त वडा घोषणा गर्ने र विभिन्न कार्यक्रम गरी किशोरीलाई स्यानिटरी प्याड निर्माणलगायतका जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ ।

 

बडीमालिकाको आयोजनामा सुरु गरिएको छलफल बुधबार वडा नम्बर २ को भौनेरामा, बिहीबार मार्तडी र शुक्रबार रापकमा सञ्चालन गरिएको थियो । नेपाल पत्रकार महासंघ, नेपाल प्रहरी, पिसविन बाजुरा, साहस नेपाल, आईएनएफ, जिल्लास्थित विभिन्न संघ–संस्थाले कार्यक्रम संयोजनमा साथ दिएका छन् ।