close

पर्यटक बोलाउँदै बर्दघाटको संसारकोट

पर्यटक बोलाउँदै बर्दघाटको संसारकोट

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम - पश्चिम नवलपरासीको बर्दघाट-२ को पहाडी चुरे क्षेत्रको गाउँ संसारकोट प्रचारप्रसार अभावले ओझेल परेको छ । पर्यटन विकासका सम्भावना बोकेको ऐतिहासिक यो सेनवंशीय पाल्पा राज्यअन्तर्गत थियो । संसारकोट गाउँको मौलादेवी मन्दिर, पुरानो बस्ती मानिने तिल्केनी, बिहारी गाउँ र पश्चिमको इनारचुली पर्यटकीय स्थल हुन् । 

 

संसारकोट ऐतिहासिक एंव धार्मिक रुपले पनि महत्वपूर्ण छ । यहाँको मौलादेवीको मन्दिर हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ । मौलादेवी मन्दिरमा रहेको घन्ट चन्द्रशमशेर राणाले चढाएको स्थानीय बुढापाका बताउँछन् ।

 

मौलादेवी मन्दिर सेनवंशीय राजाहरूको कोट मानिन्छ । पाल्पा र गुल्मीका बासिन्दा त्रिवेणीधाम स्नान गर्न यही क्षेत्रको चुरे पहाडको गोरेटो हुँदै आउजाउ गरेको किंवदन्ती पाइन्छ ।  विशेषगरी दसै र रामनवमीमा यो मन्दिरमा पूजा गर्नेहरूको भीड लाग्छ । यो वर्ष भने कोरोना कहरले यहाँ दसैंको हर्षबढाइँ भएन । 

 

चुरे क्षेत्र साविक धुर्कोट गाविस वडा-७ र ८ मा पथ्र्यो । यहाँका बासिन्दाले केही सिफारिस लिनु परे पाल्पाको सीमा क्षेत्र देउराली पुग्नैपथ्र्याे । जंगलको बाटो हिँडेर जान धेरै टाढाको तत्कालीन गाविसको केन्द्र पुग्न उनीहरू नौ किलोमिटर वरको भुताहा झर्थे । त्यसपछि सवारीसाधनमा बर्दघाट, दाउन्ने, दुम्कीवास हुँदै वेणीमणिपुरको सर्दी उपत्यका छिचोलेर देउराली पुग्नुपर्ने बाध्यता थियो ।


संघीयताले अब उनीहरूलाई बर्दघाट-२ चिसापानीको वडा कार्यालय झरे पुग्ने बनाएको छ । संसारकोट मनोरम प्राकृतिक दृश्यावलोकनका लागि उत्कृष्ट स्थल मानिन्छ । विकटता र प्रचार-प्रसार अभावका कारण ओझेलमै बस्न बाध्य छ । विकासका हिसाबले भने चुरे क्षेत्रले गति लिन थालेको छ ।

 

०७३ मा भुताहादेखि संसारकोटसम्म ट्रयाक खुलेपछि सडक सन्जालमा जोडिएको चुरेका सबै बस्तीमा गरी करिब ४ सय घरपरिवार बस्छन् । समुद्री सतहबाट करिब ७ सय ४५ मिटरको उचाइमा रहेको संसारकोटबाट उत्तरमा माछापुच्छ्रे हिम शृंखलालगायत धेरै हिमाल प्रस्ट देख्न सकिन्छ ।  दक्षिणमा पर्ने बर्दघाट बजारदेखि त्रिवेणी, भैरहवा, भारतको नौतनवादेखि सफा मौसमका बेला दूरविनले गोरखपुरसम्म देख्न सकिन्छ ।

 

चुरे क्षेत्रका बस्तीमा विकासको लहर ल्याउन बर्दघाट नगरपालिका लागिपरेको छ । नगरप्रमुख धीरज शर्मा बस्याल भन्छन्, ‘अहिले चुरेभित्रका हरेक बस्तीमा नगरपालिकाले विकासका कार्यक्रम तथा योजना ल्याएको छ । संसारकोटलगायत यस क्षेत्रको पर्यटन प्रवर्द्धन प्राथमिकतामा छ । सडक सन्जालसँग जोडिएको छ ।’

 

बाँसखोला र संसारकोटमा यसै वर्ष बिजुली बाल्ने योजना रहेको उनले जानकारी दिए । मगर समुदायको संस्कृति र परम्परागत मौलिकताले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने बस्याल बताउँछन् । 

 

पुस, माघमा तराई क्षेत्रको आकाशमा हुस्सुले छानो बनाउँदा चुरे क्षेत्रमा भने टहटह घाम लाग्छ । गृष्म ऋतुमा तराई-मधेसमा गर्मी हुँदा यहाँ शितल हावा चल्छ । ‘पर्यटकीय दृष्टिले सम्भावना बोकेको संसारकोटमा खानेपानी र विद्युत्को समस्या छ ।

 

बर्दघाट-२ का वडा सदस्य एवं स्थानीय प्रेम सोमै भन्छन्, ‘जिपसम्म चल्ने बाटो त बनेको छ तर बर्खाको बेला सडक सञ्चालनमा आउन सक्दैन । बर्दघाट-४ मर्चाखोलादेखि बिहारी चावाचा हुँदै संसारकोट पुग्ने बाटो बनिरहेकाले अब सहज हुँदै छ ।’

 

चालू वर्षमै संसारकोट र बाँसखोलामा बिजुली बल्ने सोमैको आशा छ । ‘आमवास, सुखौरामालगायत गाउँ झिलीमिली छन् । ती गाउँमा पानीको सुबिस्ता पनि छ । संसारकोटमा भने फागुनदेखि जेठसम्म पानीको हाहाकार हुन्छ,’ सोमै भन्छन् ।

 

चुरे क्षेत्रमा सुखौरा, आमबाँस, पोखरीछाप, संसारकोट, केवरेढाप, तिल्केनी, भोर्लेनी, चावचा, बिहारी, हुक्सेदमार, पटुकेलगायतका बस्ती छन् ।