close

जर्मन राजदूत र युनेस्को प्रतिनिधि भक्तपुर भ्रमणमा

जर्मन राजदूत र युनेस्को प्रतिनिधि भक्तपुर भ्रमणमा

Trulli
ADVERTISEMENT

भक्तपुर- नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्ज र युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले मंगलबार चाँगुनारायण मन्दिर र भक्तपुर नगरपालिका भ्रमण गरेको छ । विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदा क्षेत्र अवलोकनका क्रममा भक्तपुर पुगेको उक्त टोलीलाई भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिसहित कर्मचारी तथा जनप्रतिनिधिले नगरभित्रका शिक्षा, स्वास्थ्य, सम्पदा पुनर्निर्माण, सरसफाइलगायत क्षेत्रमा भइरहेका कामबारे जानकारी गराए ।


चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र तथा जनप्रतिनिधिले चाँगुनारायण क्षेत्रबारे टोलीलाई अवगत गराए ।  जर्मन राजदूतसहितको टोलीले बिहान १० बजे चाँगुनारायण मन्दिर अवलोकन सकेर दिउँसो भक्तपुर नगरपालिका भ्रमण गरेको थियो ।


चाँगुनारायण नगरप्रमुख मिश्र र भक्तपुरका नगर प्रजापतिले नगरको तर्फबाट स्वागत गरेका थिए ।  विगतमा भक्तपुर नगरको सरसफाइ, सडक निर्माण, ढल निकास व्यवस्थापनलगायत जर्मन सरकारले पु¥याएको सहयोगप्रति भक्तपुरका नगरप्रमुख प्रजापतिले धन्यवाद दिए ।


नगरप्रमुख प्रजापतिले भूकम्पबाट भत्किएका सम्पदा पुनर्निर्माणका लागि जर्मन सरकारबाट सहयोग प्रस्ताव भएको तर प्राविधिक कारणले उक्त सहयोग ग्रहण गर्न नसकिएको बताए । भक्तपुरले नागरिकको आर्थिक सहयोग, जनश्रमदानबाट १०८ बढी भूकम्पले क्षति पुर्‍याएका सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गरिसकेको उनले जानकारी दिए ।


चाँगुनारायण नगरप्रमुख मिश्रले चाँगुनारायण मन्दिरबारे जानकारी दिए । उनले मन्दिरमा भइरहेको पुनर्निर्माण, सांस्कृतिक तथा धार्मिक महत्त्वबारे टोलीलाई अवगत गराए ।  राजदूत डा. थोमस प्रिन्जले नेपालको विकासमा जर्मन सरकारको निरन्तर रहने जनाउँदै नेपाल–जर्मनीबीचको जनस्तरसम्म फैलिएको सम्बन्धलाई अझ विस्तार गर्न आगामी दिनमा पनि सहयोगका लागि तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।


उनले भक्तपुरका सांस्कृतिक एवं पुरातात्त्विक सम्पदा संरक्षण र सम्वद्र्धनले नगरको सुन्दरतालाई पृथक पहिचान दिएको बताए । नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको आफ्नै विशेषता हुने बताउँदै भूकम्पबाट क्षतिग्रस्त सम्पदा विभिन्न कारणबाट पुनर्निर्माण हुन नसकेकाले त्यसका लागि आवश्यक पहल र समन्वय गर्न तयार रहेको बताए ।


उनले विश्व सम्पदामा सूचीकृत सम्पदा संरक्षण गर्दा विभिन्न संरक्षण नीति र नियम पालना गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहे पनि स्थानीय नागरिक हित लागि यसको सदुपयोग हुनुपर्नेमा जोड दिए ।