close

कटारीको पर्यटन प्रवद्र्धन गर्न मर्जितपुरमा प्याराग्लाइडिङ परीक्षण उडान 

कटारीको पर्यटन प्रवद्र्धन गर्न मर्जितपुरमा प्याराग्लाइडिङ परीक्षण उडान 

Trulli
ADVERTISEMENT

उदयपुर–    उदयपुरको कटारी नगरपालिकाले साहसिक पर्यटन खेलका निम्ति परीक्षण उडान गरेको छ । कटारी नगरपालिका वडा नम्बर ७ मर्जेतपुर गडिकोट डाँडाबाट साहसिक खेल प्याराग्लाइडिङ, जिपलाइन, रक क्लाइम्बिङको परीक्षण गरिएको हो ।  आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उदयपुरको कटारी नगरपालिका वडा नम्बर ७ मर्जेतपुर गडिकोटमा प्याराग्लाइडिङ, जिपलाइन र रक क्लाइम्बिङको परीक्षण उडान गरिएको हो । स्थानीय गडिकोट पर्यटन व्यवस्थापन समिति कटारीले स्थानीय स्तरमा पर्यटन विकास गर्ने उद्देश्यले प्याराग्लाइडिङ, जिपलाइन र रक क्लाइम्बिङ सुरु गरेको हो । 


कटारी बजारबाट ९ किलोमिटरको दूरीमा रहेको मर्जेतपुर गडिकोटडाँडा प्याराग्लाइडिङ, जिपलाइन, रक क्लाइम्बिङ साहसिक खेलका निम्ति उपयुक्त स्थान रहेको बताइएको छ ।

 

कटारी बजारबाट ९ किलोमिटर कच्ची सडकबाट पुग्न सकिने मर्जेतपुर गडिकोटडाँडामा प्राविधिक हिसाबले सबै मौसममा साहसिक खेलको उडान भर्न सकिने प्याराग्लाडिङका क्याप्टेन दिलकुमार सुनुवारले बताए । 

 

यो स्थान नेपालमै पहिलो उडान भरेर पुन त्यही आएर अवतरण गर्न मिल्ने स्थान मर्जेतपुर गडिकोट रहेको क्यापटेन सुनुवार बताउँछन् । उनले भने, ‘यहाँ २५० मिटर लो–हाइअल्टिच्युटदेखि ७ सय ५० मिटर हाइअल्टच्युट रहेको छ । परीक्षण उडानका क्रममा ७५० मिटर हाइअल्टिच्युटबाट उडान भरेर १६ सय मिटरसम्म पुगियो ।’ २ हजार मिटरमाथिसम्म जान सके सगरमाथालगायत हिमशृंखलाको अवलोकन गर्न सकिने उनको भनाइ छ ।

 

पोखरामा व्यावसायिक उडान भर्दै आएका द बाबु एड्भेन्चर इन्टरनेसनल स्कुलमा आबद्ध क्यापटेनले उडान भरेका थिए । मर्जेतपुर गडिकोटमा ३ वटा प्याराग्लाइडिङले उडान गरेका हुन् ।

 

शुक्रबार कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतले प्याराग्लाइडिङमा उडान भर्दै परीक्षण सुरु गरे । नगरप्रमुख र उपप्रमुख दुवै जना ४५ मिनेटसम्म आकाशमा उडान भरेर अवतरण गरेका थिए । 

 

कटारी बजारदेखि नजिकैको ऐतिहासिक दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिएको गडिकोटको प्रचार–प्रसार तथा स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनको अभियान थालिएको हो ।

 

समुद्री सतहबाट ७५० मिटरको उचाइमा रहेको यो क्षेत्र प्राविधिक हिसाबले पनि प्याराग्लाइडिङका लागि उपयुक्त भएकाले जिपलाइन र स्थानीय मामखुई भीरमा रक क्लाइम्बिङ सुरु गरिएको गडिकोट पर्यटन व्यवस्थापन समिति कटारीका अध्यक्ष सूर्य लामाले जानकारी दिए । स्थानीय युवाले सुरु गरेको अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग पुर्‍याउदै आएको छ । 

 

कटारी नगरपालिकाले प्याराग्लाइडिङको उडान परीक्षणदेखि व्यवस्थापनमा सहयोग गरेको छ । कटारी नगरको पर्यटन प्रवद्र्धनका लागि यसले थप टेवा पुग्ने भएकाले नगरपालिकाको पहिचानका लागि सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे ।

 

गडिकोटमा पहिलो पटक यस किसिमको पर्यटन प्रवद्र्धन सुरु भएकाले पर्यटनको संभाव्यता अध्ययन गरेर गुरुयोजना निर्माण गरी नगरपालिकाको पर्यटनलाई प्रचार गर्ने लक्ष्य रहेको नगर उपप्रमुख राउतले बताइन । स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय नागरिकले होमस्टेसमेत सञ्चालनको तयारी गरेका छन् । 

 

तामाङ समुदायको बाहुल्य रहेको मर्जेतपुरमा स्थानीय परिकार तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले होमस्टेमार्फत पर्यटकको स्वागत गर्ने तयारी भइरहेको स्थानीय रिया तामाङको भनाइ छ ।