close

गुणस्तरीय पर्यटनका लागि पर्यटकीय तथ्यांकमा जोड दिन आवश्यक

गुणस्तरीय पर्यटनका लागि पर्यटकीय तथ्यांकमा जोड दिन आवश्यक

Trulli
ADVERTISEMENT

काठमाडौं । संस्कृती मन्त्री सुदन किराँतीले नेपालको थलिएको पर्यटन उकास्नका लागि उपयुक्त कानुन, पर्यटकीय तथ्यांक र रणनीति बनाउन आवश्यक रहेको बताएका छन् । बुधबार पर्यटन कार्यशाला कार्यक्रमको उदघाटन गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री किराँतीले यस्तो बताएका हुन् । 

उनले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधिकरण, पर्यटकीय पूर्वाधारको विकास, यस क्षेत्रमा लगानी बढाउनुका साथै पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्ने बताए । 

उनले पर्यटन क्षेत्रलाई उकास्नका लागि सबैले आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्न अनुरोध समेत गरे । 


तीन दिनसम्म सञ्चालन हुने 'वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक' क्षेत्रीय कार्यशाला सुरु भएको हाे  ।  संयुुक्त राष्ट्रसंघ अन्तर्गत विश्व पर्यटन संगठन   र नेपाल पर्यटन बोर्डको आयोजना तथा कोरियाको संस्कृती खेलकुद तथा पर्यटन मन्त्रालयको सहयोगमा काठमाडौंमा सो कार्यशाला सुरु भएको जनाइएकाे छ । 

चैत्र ३ गतेसम्म सञ्चालन हुने कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिप्स, इन्डोनेसिया,इरान, फिलिपिन्स , कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेन,  लगायत ११ देश तथा युएनडब्लुयूटीओका प्रतिनिधिहरु सहभागी रहने जनाइएको छ । 


कार्यशालामा पर्यटन क्षेत्रको विकासको लागि सरोकारवाला निकाय तथा विज्ञहरुसँग तथ्यांकमा जोड दिने, रणनीति, कानुन तथा योजनाबारे छलफल गरिने जनाइएको छ ।