close

कोरोना संक्रमणको जोखिम बढेपछि खानीखोलाका विद्यालयहरू बन्द

कोरोना संक्रमणको जोखिम बढेपछि खानीखोलाका विद्यालयहरू बन्द

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको खानीखोला गाउँपालिकामा कोभिड– १९ को संक्रमणको जोखिम बढेपछि गाउँपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन् । 

 

खानीखोला गाउँपालिका वडा– ३ को स्वास्थ्य चौकीमा ज्वरो आएर उपचार गर्न आएका महाभारत गाउँपालिकाका २७ वर्षीय एक पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएसँगै गाउँपालिकाले सबै विद्यालयहरू बन्द गरेको हो । 

 

विगत छ महिनादेखि बन्द रहेका विद्यालय १३ असोजदेखि नियमित सञ्चालनमा आएका थिए । गाउँपालिकामा इन्टरनेट, फोन, बिजुलीबत्ती आदिको असुविधा भएका कारण वैकल्पिक विधिबाट पठनपाठन गर्न समस्या भएको जनविकास उच्चमाविका प्राचार्य देशबहादुर वाइवाले बताए । 

 

उनले भने, ‘विद्यालय खोलेको तीन दिनपछि विद्यार्थीहरूमा ज्वरो आउने, रुघाखोकी आदि लक्षण देखिन थालेसँगै विद्यालय बन्द गर्नुपरेको हो ।’

 

हाल खानीखोला गाउँपालिका वडा– ३ को सम्पूर्ण स्थानलाई सिल गरी मृतक तथा मृतकको परिवारको सम्पर्कमा आएका १९ जनाको स्वाब संकलन गरी धुलिखेल पठाइएको खानीखोला गाउँपालिकाकी उपाध्यक्ष रुक्मिणी गुरुङले बताइन् । 

 

उनका अनुसार तत्कालका लागि एक हप्ता विद्यालय बन्द गरिए पनि कोरोना भाइरसको जोखिम घटेपछि विद्यालय पुनः सञ्चालनमा आउनेछन् । हाल खानीखोला गाउँपालिकामा कोराना संक्रमित भने कोही पनि छैनन् ।