close

सरूवामा विमति जनाउँदै सप्तकोसीका शिक्षक आन्दोलित

सरूवामा विमति जनाउँदै सप्तकोसीका शिक्षक आन्दोलित

Trulli
ADVERTISEMENT

राजविराज - स्थानीय सरकारले ऐन नियमविपरीत काज सरुवा गरेको विरोधमा सप्तकोसी नगरपालिकाका शिक्षक आन्दोलित भएका छन् । शिक्षा ऐन, ०२८ र शिक्षा नियमावली, ०५९ विपरीत नगरपालिकाले शिक्षकको सरुवा गरेको उनीहरूको आरोप छ ।


स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले पनि आधारभूत र माध्यमिक शिक्षासम्बन्धी अधिकार दिए पनि सरुवा, बढुवाको अधिकार नदिएको अवस्थामा गरिएको निर्णय बदर गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

 

सरुवा, बदरको माग गर्दै शिक्षकहरूले नगरप्रमुख  उत्तमकुमार शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । कोरोना महामारी तथा शैक्षिक सत्रको बीचमा विद्यालयको शैक्षिक संरचना नै बिग्रिने गरी गरिएको शिक्षक तथा प्रधानाध्यापकहरूको सरुवा बदर गर्नुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।


नगरपालिकाले ज्ञापनपत्रलाई बेवास्ता गरेपछि शिक्षकहरूले शुक्रबार कालो पट्टी बाँधेर पठनपाठन गराएका छन् । असोज २५ मा दिउँसो १ देखि ३ बजेसम्म नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको गोवर्धन वैराजी जनता माध्यमिक विद्यालयका शिक्षक उमाकान्त चौधरीले बताए । ‘शिक्षकहरूको मागलाई बेवास्ता गरे दोस्रो चरणमा थप सशक्त कार्यक्रम घोषणा गर्छौं’, उनले भने ।


असोज १८ को नगर शिक्षा समिति बैठकले दरबन्दी मिलानका क्रममा नगर क्षेत्रका १४ शिक्षकको काज सरुवा गरेको छ । निर्णयविरुद्ध नगर क्षेत्रका ४३ शिक्षक आन्दोलित भएका छन्, जसमध्ये ९ जगेडाका हुन् ।


यसैबीच असोज १५ को उच्च अदालत जनकपुर, राजविराज इजलासले पनि शिक्षकहरूको सरुवा बढुवा गर्ने अधिकार स्थानीय तहलाई नरहेको भन्दै उत्प्रेरणा, निषेधाज्ञायुक्त परमादेश जारी गरेकाले नगरपालिकाले निर्णय सच्याउनुको विकल्प नरहेको शिक्षकहरू बताउँछन् ।  सिराहाको लहानले ०७७ जेठ १८ मा गरेको शिक्षक सरुवाको निर्णयविरुद्ध रमेशप्रसाद चौधरीले रिट दर्ता गराएका थिए ।


असोज १५ मा जारी भएको उत्प्रेरणा, निषेधाज्ञायुक्त परमादेशमा ‘शिक्षा ऐन, नियमावलीबमोजिम जिल्ला शिक्षा कार्यालय तथा जिल्ला शिक्षा अधिकारीबाट सम्पादन भई आएका काम हाल शिक्षा विकास तथा समन्वय इकाइमार्फत गर्ने भनी नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयको ०७५ वैशाख १९ को  पत्रमा देखिएको अवस्थामा सुविधा र सन्तुलनको दृष्टिबाट विपक्षीहरूबाट राहत कोटामा कार्यरत शिक्षकलाई समेत सरुवा गर्ने गरी भएको निर्णय र सोका आधारमा भएका पत्राचारसमेत तत्काल कार्यान्वयन नगरी-नगराई निवेदनको टुंगो नलागेसम्म यथास्थितिमा राख्नु भनी यो अन्तरिम आदेश जारी गरिएको छ ।’


सप्तकोसी नगरपालिको शिक्षा शाखाका अधिकृत रमेश खड्काले भने सिरहाको लहान र सप्तकोसी नगरपालिकाको विषय फरक भएको वताएका छन् । नगरपालिकाले शिक्षकहरूको सरुवा नगरी शिक्षा मन्त्रालयको पत्राचारअनुसार दरबन्दी मिलान मात्रै गरेको उनको भनाइ छ ।


कात्तिक मसान्तसम्म दरबन्दी मिलान नगरे पुल दरबन्दीमा रहेका ९ शिक्षक मन्त्रालयले फिर्ता बोलाउने भएकाले यस्तो निर्णय भएको खड्काको दाबी छ ।


शिक्षक र विद्यार्थीको अनुपात मिलाउन पनि दरबन्दी मिलान गरिएको उनले बताए । ‘कुनै विद्यालयमा शिक्षक धेरै, कुनै विद्यालयमा विद्यार्थी धेरै भएकाले अनुपात मिलाउन पनि यो आवश्यक थियो,’ उनले भने, ‘विषयगत शिक्षकहरूको अनुपात मिलाउन पनि दरबन्दी मिलान गरिएको हो ।’


विषयगत शिक्षकहरू कुनै विद्यालयमा धेरै र कुनैमा नभएका कारण पनि दरबन्दी मिलान बाध्यकारी भएको खड्काको तर्क छ । नगरपालिकाको निर्णयविरुद्ध केही शिक्षकहरूको असन्तुष्टि देखिएकाले त्यस विषयमा कार्यपालिका र नगर शिक्षा समितिले निर्णय गर्ने उनले जानकारी दिए ।