close

शैक्षिक शत्र पुरा गर्न सातै दिन पढाइ

शैक्षिक शत्र पुरा गर्न सातै दिन पढाइ

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सातै दिन विद्यालय खुलाइएको छ । शुक्रबार पूरै पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन थालेको हो ।

 

कोरोना महामारीले पठनपाठनमा भएको ढिलाइका कारण शनिबार पनि विद्यालय खोल्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाले बनाएको योजनाअनुसार अबदेखि १ सय ५५ दिन विद्यालयमा पढाइ हुनेछ । ‘बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ वैशाखभरि सञ्चालन हुने र २०७९ जेठबाट अर्को शैक्षिक सत्र सञ्चालन गर्ने गरी कार्ययोजना पास भएको छ’, नगरप्रमुख गोर्खबहादुर केसीले भने ।

 

नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुने उनले बताए । गत ११ चैतदेखि बन्द भएका विद्यालय नगरपालिकाले १६ कात्तिकदेखि खुलाएको हो ।

 

पालिकाभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएपछि पारित गरिएको हो ।

 

‘कोरोना संक्रमणबाहेक अन्य कारणले पढाइ प्रभावित हुने छैन,’ नगरप्रमुख केसीले भने, ‘बिदाको समय पनि शैक्षिक र अतिरिक्त क्रियाकलाप सुरु गर्न थालियो ।’

 

कार्ययोजनामा २०७८ वैशाखमा भर्ना अभियान चलाउने र चालू शैक्षिक सत्रको बाँकी पढाइलाई पनि निरन्तरता दिइने उल्लेख छ ।

 

हिमालय माविका प्रधानाध्यापक कृष्ण केसीले अर्को शैक्षिक सत्रको एक महिना चालू शैक्षिक सत्रमा गाभेर पूर्ण पठनपाठन गराउने गरी नगर कार्यपालिकाबाट कार्ययोजना पारित भएको बताए ।


यो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएको उनको दाबी छ । आदर्श माविका प्रधानाध्यापक चिन्ताराम शर्मा यो शैक्षिक सत्रको व्यवस्थापनका कार्ययोजना महत्त्वपूर्ण भएको सुनाउँछन् ।


जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएरै पठनपाठन सुरु गरेको थियो ।