close

अल्छी शिक्षकलाई सवकः स्कुलमा गयल, तलब चट् ! 

अल्छी शिक्षकलाई सवकः स्कुलमा गयल, तलब चट् ! 

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले विद्यालयमा गयल हुने शिक्षकहरूको साढे दुई लाख रुपैयाँभन्दा बढी तलब काटेको छ । विद्यालयमा कुनै जानकारी नगराई बिदामा बसेका शिक्षकहरूको दुई लाख ५६ हजार रुपैयाँ तलब काटिएको हो । 


३७ वटा विद्यालयका ६९ जना शिक्षकको तलब काटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । तलब काटिनेमा विद्यालयका कर्मचारी, शिक्षकसहित प्रध्यानाध्यापकसम्म रहेका छन् । 


कममा एक दिनदेखि बढीमा ४५ दिनसम्म विद्यालयमा हाजिर नहुने शिक्षकहरू कारवाहीमा परेको उनको भनाइ छ । उनका अनुसार एक जना शिक्षकबाट २०० देखि ४२ हजार २०० रुपैयाँसम्म तलब काटिएको छ । 


पहिलो चौमासिकमा काटिएको दुई लाख ५६ हजार रुपैयाा नगरपालिकाको आन्तरिक राजस्वका रूपमा नगरको खातामा जम्मा गरिएको छ । 


यसमा अब झनै कडाइ गर्ने नगरपालिकाले जनाएको छ । दोस्रो पटक पनि आफूखुसी बिदामा बसेको भेटिएमा अझ कडा कारवाही हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।

 

शिक्षकहरू धेरै दिनसम्म विद्यालयमा उपस्थित नहुँदा शिक्षाको गुणस्तर बढ्न नसकेको भन्दै यस्तो कदम चालिएको उनले जानकारी दिए । 


अब नियमित रूपमा विद्यालय अनुगमन गरिराख्ने र कमजोरी भेटिएमा कसैलाई पनि नछाडिने नगरको भनाइ छ ।