close

प्रविधिमैत्री बन्दै फिदिम मावि (भिडियाे खबर)

प्रविधिमैत्री बन्दै फिदिम मावि (भिडियाे खबर)

ADVERTISEMENT

पाँचथर- पाँचथर जिल्लाको सदरमुकाममा रहेको सामुदायिक विद्यालय फिदिम माविमा शिक्षण सिकाइमा प्रविधि प्रयोग बढाउँदै लगिएको छ । फिदिम माविमा १२ कक्षासम्म प्रविधिको प्रयोगलाई बढाएर शिक्षण सिकाइ गतिविधि अघि बढाइएको छ ।  


आईसीटी ल्याबको स्थापना गरी प्रविधिमैत्री बनाइँदै लगिएको हो । हरेक कक्षा कोठामा प्रविधिको अधिकतम प्रयोग गराउने योजना रहेको प्रधानाध्यपक विनोदकुमार ठाकुर बताउँछन् । स्मार्ट बोर्ड, कम्प्युटर, प्रोजेक्टर तथा अन्य डिभाइसको प्रयोग गरी कक्षा संचालन हुँदै छ ।  


५ वर्षमा सबै शिक्षण प्रक्रिया आधुनिक प्रविधिअनुसार गर्ने गरी योजना अघि सारिएको प्रअ ठाकुरले बताए । नमुना विद्यालयको रूपमा समेत अघि बढाइएको यस विद्यालयलाई प्रविधिमैत्री  बनाउन संघ, प्रदेश तथा स्थानीय सरकारले पनि सहयोग गरिरहेका छन् । 


आईसीटी ल्याबका लागि दूर संचार प्राधिकरणले ३५ लाख रुपैयाँ बराबरको ल्याब सामग्री उपलब्ध गराएको थियो । उपलब्ध सामग्रीमा २४ वटा कम्प्युटर, नेटवर्किङ सिस्टम छन् । प्रदेश सरकराको सामाजिक विकास मन्त्रालयले १६ लाख रुपैयाँ बजेट प्रदान गरेपछि सामग्रीहरू खरिद गरिएको थियो ।


यी सामग्री प्रयोगका लागि शिक्षकहरूलाई ३ महिने तालिम दिइएको थियो । कम्प्युटरका माध्यमबाट शिक्षण गर्नका लागि  सबै शिक्षकसँग सम्झौता गरिएको ठाकुरले जानकारी दिए । अहिले शैक्षिक सामग्री निर्माण कम्प्युटरमै गर्ने काम अघि बढेको छ । स्रोत जुटाएर प्रविधिको उच्चतम प्रयोगतर्फ अघि बढ्न प्रयास भइरहेको ठाकुरले बताए । 


यसका साथै विद्यालयमा कम्प्युटर शिक्षासमेत संचालन भएको छ । विद्यालयमा ई-जोनसमेत रहेको छ । कक्षा ४ र ५ मा तथा कक्षा ८, ९ र १० मा कम्प्युटर शिक्षा पढाइ हुन्छ । 


कम्प्युटर शिक्षा पाउँदा विद्यार्थी पनि खुसी देखिन्छन् । कम्प्युटर कक्षामा सिक्ने उत्सुकता जाग्ने गरेको कक्षा ९ की विद्यार्थी प्रनिता ओझाले बताइन् । उनका अनुसार अहिले विद्यार्थीले नयाँनयाँ कुरा सिक्न तथा प्रयोगमा ल्याउन पाएका छन् । 


नमुना भवन कार्यक्रमअन्तर्गत बन्ने नयाँ भवन बनेपछि अलिक सहज हुने ठाकुरले बताए । ११ वटा कक्षामा आईसीटीको प्रयोग गरिएको उनले जानकारी दिए । विद्यालयमा ल्याब रुमसमेत संचालन भएको छ । 


विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्ममा २ हजार विद्यार्थी छन् । सामुदायिक विद्यालयमा प्रविधिको उच्चतम प्रयोग बढाउन सके विद्यार्थीले प्राप्त गर्ने शैक्षिक उपलब्धिमा बढोत्तरी हुने देखिन्छ ।