close

बुद्धभूमिका छात्रा साइकलमा सरर... (भिडियो खबर)

बुद्धभूमिका छात्रा साइकलमा सरर... (भिडियो खबर)

ADVERTISEMENT

कपिलवस्तु- आधारभूत तह उत्तीर्ण भएपछि माध्यामिक तह अध्ययन गर्दा धेरै विद्यार्थी ड्रप आउट हुने गर्दछन् । त्यसमध्ये पनि पढाइ छाड्नेको दर हेर्ने हो भने छात्राको दर धेरै छ । तराई मधेशको दर हेर्ने हो भने जति दक्षिणतर्फ गयो त्यति विद्यालय छाड्ने दर बढी छ । धेरै छात्रा घरायसी काम, बाल विवाह, घरदेखि विद्यालयको दुरी टाढा भएर विद्यालय छाड्नु पर्ने बाध्यतामा छन् ।

 

विद्यार्थीको यही दर घटाउनका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत छात्रालाई उपहार दिएको छ । शिक्षा पाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले मधेसी समुदायका बालिकालाई लक्षित गर्दै पालिकाले उपहार स्वरुप साइकल वितरण गरेको छ । 


पुष्पा परियार बुद्धभूमि नगरपालिका-४ जोतपुरदेखि दैनिक चार किलोमिटर हिँडदै विद्यालय जान्छिन् । साथीको साइकल चढेर विद्यालय गएको देख्दा उनलाई साइकल चढ्ने रहर लागेको थियो । घरको आर्थिक अवस्था कमजोर भएको हुँदा साइकल किन्न सक्ने अवस्था समेत थिएन । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत नगरपालिकाले साइकल उपहार दिएपछि उनको परिवारले जीवनमा पहिलो पटक साइकल प्राप्त गरेको छ ।

 

नगरपालिकाले आधारभूत तह कक्षा ८ उर्तीण गरी कक्षा ९ मा पुगेका छात्रालाई प्रोत्साहन स्वरूप साइकल उपहार दिएको छ । कक्षा छाड्ने दर धेरै भएको मधेसी समुदायको बाहुल्यता रहेका वडा नं. ५, ६, ७, ८ र १० का २ सय ४८ छात्रा लाभान्वित भएका छन् । छात्राहरुलाई साइकल प्रदान गर्न २० लाख रकम खर्च भएको छ । साइकल सहयोग पाएपछि उनीहरुलाई उच्च शिक्षा पूरा गर्न सहयोग हुने विश्वास गरिएको छ । साथै विद्यालय आउन जान लाग्ने समय समेत घट्ने भएको छ । 

 

साइकल पाएपछि छात्राहरु समेत निकै खुसी भएका छन् । साइकलका कारण अब एक्लै विद्यालय आउँदा जाँदा लाग्ने डर समेत हटेको छ । घर र विद्यालय पुग्ने समय समेत छोटो भएको छ । आवत जावत गर्दा हुने जोखिम समेत कम भएको छ । यसले दुरी टाढा भएर हुने विद्यालय छाड्ने समस्या अन्त्य गर्ने विश्वास लिइएको छ । यसका अलावा उनीहरूको उच्च शिक्षामा समेत प्रोत्साहन हुने नगरपालिकाको दावी छ । 


तराईका अधिकांश जिल्लामा किशोरी अवस्थामा पुगेका छात्रा विद्यालय जानै छाड्छन् । विद्यालय टाढा हुने र घर फर्कन पनि निकै समय लाग्ने भएकाले पनि उनीहरू विद्यालय जान मान्दैनन् । कतिको त किशोरावस्थामा नै विवाह हुने गर्दछ । परिवारको आर्थिक स्थिति नाजुक हुँदाको समस्या समग्र तराई र विद्यार्थीको भविष्यमा पर्ने गरेको छ । यही समस्या हल हुने विश्वाससहित साइकल वितरण गरिएको हो । विद्यार्थीलाई पढाइबाट वञ्चित हुन नदिन अन्य पालिकाले समेत यस्तै योजना बनाउन आवश्यक छ ।