close

माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

Trulli
ADVERTISEMENT

मुगु– मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा विद्युत् अभावका कारण विद्यालयले ल्याएको कम्प्युटर प्रयोगविहीन बनेका छन् । 

 

७ वर्ष पहिले सञ्चार तथा प्रविधि मन्त्रालय तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाउँपालिका वडा नम्बर १० मा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यले २४ वटा डेस्कटप कम्प्युटर, ४ वटा सिसिक्यामेरा र इन्टरनेट सेवा सहयोग गरिएको थियो ।

 

तर, उक्त विद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सिसिक्यामरा तथा इन्टरनेटका मेसिनमा माकुरा, धमिराले जालो लगाएपछि लाखौँ मूल्यका सामान कौडीमा परिणत हुँदै गएका छन् । 

 

७ वर्षअघि विद्यालयमा सौर्यपातासहितको विद्युत् सहयोग उपलब्ध गराइएको थियो । सोहीअनुरूप सरकारले कम्प्युटर, सिसिक्यामेरालगायत विद्युतीय उपकरण विद्यालयलाई हस्तान्तरण गरेको थियो । तर, बिजुलीको सहज पहुँच नहुँदा कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जानकारी दिएको
छ । 

 

विद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर विषय पढाइ हुने भए पनि बिजुली नहुँदा प्रयोगात्मक कक्षा सञ्चालन हुन सकेको छैन ।

 

‘विद्यार्थीले कम्प्युटर प्रयोग गर्न पाएका छैनन् । खत्याड गाउँपालिकामा विद्युत् व्यवस्थाका लागि बजेट व्यवस्था गर्न पालिकासँग आग्रह गरेका थियौँ तर अहिलेसम्म सुनुवाइ भएन । विद्यालयमा कम्प्युटर जडान नहुँदा यी सामग्री प्रयोगविहीन हुन पुगेका हुन्’, विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर रोकायाले भने ।

 


विद्यालयमा कम्प्युटर शिक्षा पढाइ भए पनि कार्यालयमा रहेका कम्प्युटर विद्यार्थीले प्रयोग गर्नै पाएका छैनन् । लामो समय प्रयोगविहीन बनेका कम्प्युटर केही बिग्रिएका छन् । 

 

‘बालबालिकालाई कम्प्युटर शिक्षा अनिवार्य बनाइएपछि बजारमा महँगो शुल्क तिरी पढ्नुपथ्र्यो । विद्यालयमा पनि कम्प्युटर शिक्षा पढाउन थालेपछि बालबालिकाले  सहजै रूपमा लिने आश गरेका थियौँ । तर, विद्यालयमा ल्याइएका कम्प्युटर बिजुली नहुँदा प्रयोगविहीन भए’, अभिभावक चन्द्रवीर बुढाले भने ।