close

खुलेको एक सातामै बन्द भए बुद्धशान्तिका विद्यालय

खुलेको एक सातामै बन्द भए बुद्धशान्तिका विद्यालय

Trulli
ADVERTISEMENT

झापा– कोरोना कहरका बीच लामो समयपछि खुलेका बुद्धशान्ति गाउँपालिकाका विद्यालय साता दिन नबित्दै पुनः बन्द हुन थलेका छन् । यसै साता एक निजी र २ वटा सामुदायिक विद्यालय बन्द भएका हुन् ।

 

विद्यालय खुलेको ३ दिनपछि झापा बुद्धशान्तिको बुद्ध आदर्श माविका शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द भएको थियो ।  सो विद्यालय बन्द गरिएलगत्तै बुद्धशान्तिकै वडा नम्बर ५ शान्तिनगरमा रहेको निजी विद्यालय शान्ति निकेतन अंग्र्रेजी माविले समेत अधिकांश विद्यार्थीमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि विद्यालय बन्द गरिएको सूचना मंगलबार जारी गरेको छ ।

 

त्यस्तै, बद्धशान्ति वडा नम्बर ६ स्थित श्री मावि बर्नेले समेत भौतिक उपस्थितिका कक्षा बन्द गरेको जनाएको छ । प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले विद्यालयमा दैनिक ज्वरो आउने विद्यार्थीको संख्या बढ्दै गएको तथा समुदाय एवं विद्यालयमै जोखिम बढेको पाइएकाले गाउँपालिका शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारबाट पठनपाठन बन्द गर्नु परेको जानकारी दिए ।

 

बुद्धशान्ति वडा नम्बर ७ मा रहेको राष्ट्रिय विजय माविले समेत बिहीबारबाट भौतिक उपस्थितिका पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताए ।

 

झापामा जिल्ला प्रशासन कार्यालयबाट भदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै झापाका अधिकांश स्थानीय तहले विद्यालय खुलाउन सकिने किसिमको निर्णय सार्वजनिक गरेका थिए ।

 

सोही अधिकार प्रयोग गर्दै एक साताभित्र झापाका सबै पालिकामा विद्यालय धमाधम खुले । सोही अवधिमा झापामा दैनिक दर्जनको संख्यामा कोरोना संक्रमित थपिँदै थिए । यतिबेला पनि झापामा कोरोना संक्रमण दैनिक बढ्दो छ ।