close

आमरण अनशन बसे पनि शिक्षक रानाले पाएनन् १७ महिनाको तलब 

आमरण अनशन बसे पनि शिक्षक रानाले पाएनन् १७ महिनाको तलब 

Trulli
ADVERTISEMENT

बैतडी– गाउँबाट विस्थापित बैतडीका शिक्षक करन रानाले १७ महिनासम्मको तलब पाएका छैनन् ।  दशरथचन्द नगरपालिका वडा नम्बर ४ स्थित ईश्वर आधारभुत विद्यालयमा अध्यापनरत राहत शिक्षक राना तलब नपाएको भन्दै गत भदौमा ५ दिनसम्म श्रीमती र ४ छोराछोरीसहित आमरण अनशन बसेका थिए । 
जिल्ला शिक्षा समितिले केही दिनमै तलब उपलब्ध गराउन पहल गर्ने बताएपछि अनशन तोडेका थिए । उतिबेला उनको १४ महिनाको तलब बाँकी थियो भने अहिले १७ महिना पुगिसक्यो ।


शिक्षक रानाले भने, ‘हामी स–परिवार जिल्ला समन्वय समितिको प्रांगणमा शिक्षा समिति अध्यक्षको कार्यकक्ष अगाडि आमरण अनशन बसेका थियौँ । माग पूरा नभए अनशनमै मर्नेसम्म भनेका हौँ । तर, ५ दिनपछि जिल्ला शिक्षा समितिका अध्यक्ष सिद्धराज भट्ट, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थी, दशरथचन्द नगरपालिका शिक्षा शाखा प्रमुख मोहन नाथलगायतले अनशन स्थलमा गएर तलब दिने आश्वासन दिएपछि अनशन तोडेको हुँ ।’


माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेर एक÷दुई दिनभित्रै तलब खुवाउँछौँ भनिएकामा अहिले थप ३ महिना पूरा भए पनि अहिलेसम्म नपाएको उनको गुनासो छ ।
आमरण अनशन बसेका विस्थापित शिक्षक राना परिवारले जिल्ला शिक्षा समितिका अध्यक्ष भट्टको हातबाट जुस पिउँदै अनशन तोडेका थिए । 


आफ्नो पतिको तलब नआउँदा दैनिक छाक टार्न मुस्किल भएको रानाकी श्रीमती राजु रानाले बताइन् । उनले भनिन्, ‘५ हजार रुपैयाँ कोठा भाडा तिर्नुपर्छ । विद्युत्, पानीको महसुल, दैनिक उपभोग्य सामान, छोराछोरीको विद्यालय शुल्क केही पनि तिर्न सकेका छैनौँ । १२ लाख रुपैयाँ बढी रकम ऋण तिर्न बाँकी छ । ४ लाख व्यापारीबाट उधारोमा खाएको रासनको पैसा तिर्न बाँकी छ । साहू कोठामै आएर गाली गर्छन् ।’


करन राना दम्पती ०७२ मा एक दलित केटासँग चन्दको छोरी भगाएको आरोपमा आफ्नो गाउँ शिवनाथ गाउँपालिका वडा नम्बर ६ बाट विस्थापित भएका थिए ।उनीहरूलाई गाउँलेले लखेटेपछि जिल्ला सदरमुकाममा बस्दै आएका छन् । राना दम्पतीमाथि लगाइएको आरोप भने अदालतले झुटो ठहर गरिसकेको छ । 

 

उनीहरूको घरसमेत जलाइएकाले जिल्ला सदरमुकाममै बस्छन् । अझै पनि राना परिवारलाई गाउँलेबाट ज्यान मार्ने धम्की आउने गरेको छ । शिवनाथ गाउँपालिका वडा नम्बर ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ वर्षअघि गाउँबाट विस्थापित भएपछि अहिले दशरथचन्द नगरपालिका वडा नम्बर ४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् । 


हिरापुर मावि शिवनाथले शिक्षक रानालाई दशरथचन्द नगरपालिकाभित्र पदस्थापनका लागि स्वीकृति दिइसकेको छ । तर, रानाले काम गरिरहेकै विद्यालयमा राहत कोटा खाली भए पनि जिल्ला शिक्षा समितिले पदस्थापन गरेको छैन । आफ्नो पदस्थापन र रोकिएको तलब माग गर्दै राना सपरिवार अनशन बसेका थिए । 
शिक्षक रानालाई हिरापुर मावि शिवनाथले तलब दिन जिल्ला शिक्षा समितिसँग प्रतिबद्धता गरे पनि कार्यान्वयन गरेको छैन । शिक्षक रानाले भने, ‘तलब लिन कहिले जिल्ला शिक्षा समिति अध्यक्ष तथा शिक्षा विकास तथा समन्वय इकाइमा जानू भन्ने, समन्वय इकाइ प्रमुख अध्यक्षलाई भन्ने तथा प्रमुख जिल्ला अधिकारीसँग जाऊ भन्दै झुलाइँदै आएको छ ।’