close

ज्योति आधारभूत विद्यालयको नयाँ भर्ना शून्य

ज्योति आधारभूत विद्यालयको नयाँ भर्ना शून्य

Trulli
ADVERTISEMENT

जुम्ला । जुम्लाका अधिकांश सामुदायिक विद्यालयमा कक्षा कोठा, शौचालय, खानेपानी र शिक्षक छन् तर, विद्यार्थी भने छैनन् । 

सामूदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्नका लागि सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु हुने बेला आकर्षक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर, सामुदायिक विद्यालयमा भने विद्यार्थीको संख्या घट्दैछ । 

औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको छ । पातारासी गाउँपालिका –५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा चालु शैक्षिक सत्रमा कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट भएको छ । 

विद्यालयको भवन छ । विद्यालयमा स्थायी दरबन्दी एक जना, राहत शिक्षक एक जना, एउटा गाउँपालिका अन्तर्गतको अनुदान शिक्षक, निजी स्रोत एक जना र एक सहयोगीसहित पाँच  जना शिक्षक छन् । कक्षा चारसम्म पढाई हुने विद्यालय अनुमति पाँच कक्षासम्म पाएको छ । पातारासी गाउँपालिकाले तीन कोठे पक्की भवन निर्माण गरेको छ । कक्षा कोठामा आवश्यक फर्निचर डेस्क बेन्च पनि सहयोग गरेको छ । 

विद्यालयमा ३२ जना विद्यार्थी छन् । २०६५ सालमा स्थापना भएको केही वर्ष अघि १५० विद्यार्थी थिए । पछिल्लो वर्ष ५० विद्यार्थी भर्ना भए पनि नियमित आउँदैनन् । कहिलेकाही त एक जना पनि पढ्ने विद्यार्थी हुदैनन् । सबै कक्षाका बेन्च टेबुल खाली हुन्छन्  । शिक्षकहरू विद्यालय आउँछन्, हाजिर गर्छन् । चउरमा एकैछिन गफिएर आफ्नो घरमा फर्किन्छन् । 

विद्यालयकी प्रधानाध्यापक सरस्वती कुमारी ऐडीले भनिन्, 'भएका विद्यार्थी पनि निजी विद्यालयमा गएपछि यो वर्षदेखि विद्यार्थीको भर्नादर शून्य छ । प्रअ ऐडीका अनुसार सामुयिक विद्यालयका विद्यार्थीहरू सबै बोर्डिङ स्कुलमा जान थाले विद्यार्थी विद्यालयमा रोक्नै सकिएन । विद्यालयप्रति अभिभावकको चासो नभएको उनले गुनासो गरिन् । विद्यालय नजिकै ठूलो खोला, बग्ने डर छ । गएको हप्ता एक विद्यार्थी पनि खोलामा बगेर बेपत्ता भएका थिए ।'

सरकारले एक गाउँ एक विद्यालय हुनुपर्छ भन्ने नीतिले पनि सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको उनले बताइन् । 
खाजाका लागि मात्रै विद्यार्थी पठाउने गरेको पाइन्छ । विद्यार्थीलाई नियमित दिवा खाजा खुवाउने गरिएको छ । 
प्रधानाध्यापक ऐडीले भनिन् 'अभिभावकले विद्यालयको चौरमा गाईवस्तु  बाँध्ने गरेका थिए । घरमै गएर सम्झाइबुझाइ गरेपछि छाडेका छन् । ६ कोठे पक्की भवन छ । छात्र छात्राको र स्टापको  शौचालय फरक-फरक छन् ।'

खानेपानीको प्रबन्ध नहुँदा शौचालय उचित तरिकाले प्रयोग नभएको  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता बुढाले बताइन् । अहिले व्याक्तिको घरको धाराको पानी विद्यार्थी, शिक्षकले खाइरहेका छन् । 

सोही गाउँपालिका –४ स्थित लसुर आधारभूत विद्यालय लाम्रीको अवस्था उस्तै छ । अहिले  ४२ विद्यार्थी अध्ययन गरिरहेका छन् । पछिल्लो समयमा सबै सामुदायिक विद्यालयप्रति सबैको चासो घट्दै गएको छ । यसरी सरकारले तलब भत्ता खुवाएर चलाएका विद्यालयमा विद्यार्थी संख्या कमी हुनु चिन्ताको विषय हो । 

परम्परागत ढङ्गले चल्ने र समयको परिवर्तन आत्मासाथ नगर्दा सामुदायिक विद्यालयप्रति आर्कषण घटेको स्थानीय गोविन्द्र बुढाले बताए । अंग्रेजी माध्यम पढाउने, पोशाकको व्यवस्था गर्ने, कम्यूटर तथा खेलकूदजस्ता अतिरिक्त गतिविधि विद्यालयमा सञ्चालन गर्नुपर्ने उनले बताए ।