close

गुठीचौर गाउँपालिकाले सुरु गर्‍यो आफ्नै रेडियो

गुठीचौर गाउँपालिकाले सुरु गर्‍यो आफ्नै रेडियो

Trulli
ADVERTISEMENT

जुम्ला - जुम्लाको गुठीचौर गाउँपालिकाले आफ्नै रेडियो एफएम स्थापना गरी सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले नागरिकलाई सूचनाको पहुँचमा पुर्‍याउने उद्देश्यले एफएम रेडियो स्थापना गरी सञ्चालनमा ल्याएको हो । 


९८.४ मेगाहर्जको उक्त रेडियो गुठीचौरबाट अहिले परीक्षण प्रसारण भइरहेको गाउँपालिका नायव सुब्बा मोतीप्रसाद जैशीले जानकारी दिए । गाउँपालिकाको रेडियो स्थापना गर्न २४ लाख लगानी गरेको छ । रिले स्टेसन टावर स्थापनाका लागि बजेट विनियोजन गरिएको छ ।


अहिले रेडियो स्थापना भएपछि कोरोना  रोकथाम तथा नियन्त्रणदेखि विभिन्न प्रकारका सूचना नागरिकलाई दिन थालिएको छ । 


गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी स्थानीयलाई गाउँपालिकामा भएका विकास निर्माणका गतिविधिबारे जानकारी दिन र शिक्षा, स्वास्थ्यलगायतका विषयमा सुसूचित बनाउन रेडियो स्थापना गरिएको बताउँछन् ।


गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलका अनुसार पालिकाका हरेक गतिविधिमा जनताले सुसूचित हुन पाउने अधिकार भएकाले रेडियोमार्फत सूचना प्रसारण गरिनेछ । अहिले रेडियो गुठीचौर गाउँपालिका, चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिकासहित विभिन्न क्षेत्रमा सुन्न सकिन्छ । 


अन्यत्र पनि सुन्न सकिने बनाउन चिमारामा रिले स्टेसन राख्ने तयारी भइरहेको उनले जानकारी दिए । रेडियोमा काम गर्ने कर्मचारीको सेवा–सुविधा सुनिश्चित गर्न स्थानीय सरकारले कार्यविधिसमेत बनाएको छ । गाउँसभाबाट पारित गर्ने तयारी छ ।


‘रिले टावर बनाएपछि गाउँपालिका २  हजार ५ सय घरधुरी सूचनाको पहुँचमा आउने र जुम्लाका अन्य गाउँपालिका, जाजरकोट, मुगु र डोल्पामा समेत रेडियोको पहुँच पुग्नेछ’, पालिका अध्यक्ष भण्डारीले भने ।


अनुगमन समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीका अनुसार पालिकाले भौतिक तथा सामाजिक विकास गरिरहे पनि जनतालाई जानकारी दिन रेडियो एफएम स्थापना गाउँपालिकाको प्राथमिकतामा परेको हो । रेडियो गुठीचौर जुम्लाको स्थानीय तहले स्थापना गरेको पहिलो रेडियो हो ।