close

नागरिकका वेदना सम्बोधन गर्दै देउमाई

नागरिकका वेदना सम्बोधन गर्दै देउमाई

Trulli
ADVERTISEMENT

इलाम - इलामको देउमाई नगरपालिकाले स्थानीय नागरिकलाई आइपर्ने समस्याको तत्कालै समाधान गरिँदै आएको बताएको छ । स्थानीय सरकार स्थापनापछि नगरपालिकाले नागरिकको मृत्यु भए दाहसंस्कार गर्न प्रतिपरिवारलाई पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ ।


अहिलेसम्ममा ६ सय आठ जनाको शोकमा परेको परिवारले त्यस्तो सहयोग प्राप्त गरेका छन् । आफन्त गुमाएका परिवारको शोकमा सहभागिता जनाउँदै धर्म-संस्कारअनुसार दाहसंस्कार गर्न प्रतिपरिवार सहयोगस्वरूप पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको नगरप्रमुख सूर्यप्रसाद पोख्रलेलले बताए ।

 

‘आफन्त गुमाएका परिवारलाई सान्त्वना र सहयोग आवश्यक हुन्छ’, नगरप्रमुख पोख्रेलले भने, ‘व्यक्तिको मृत्युमा परिवार शोकमा हुन्छ । परिआउने समस्याको व्यवस्थापन गर्न सकेको हुँदैन । परिवारको सामाजिक सुरक्षालाई महत्व दिएर नागरिकको सुख दुःखसँग जोडिने प्रयास गरेका हौं ।’

 

कांग्रेस देउमाई नगरपालिका सभापति तथा वडा-५ का वडाअध्यक्ष दिलीप कार्कीले दाहसंस्कारका लागि उक्त सहयोग गरिएको पोखरेलले जानकारी दिए । सहयोग पारदर्शी बनाउँदै वडा केन्द्रबाटै वितरण गर्न नीति बनिरहेको र यस्तो सहयोग बढाउँदै लगिने तयारी भइरहेको उनले बताए ।

 

‘पालिकाको यो कदमले नागरिक र नगरपालिकालाई जोडेको छ ।  दुःखमा सानो भए पनि सहयोगको सुरुआत गरेको देउमाई नगरपालिका- ८ वडा सदस्यमा निर्वाचित हुँदै जिल्ला समन्वय समितिका प्रमुख भएका गणेशप्रसाद बराल सुनाउँछन् । 

 

‘नगरबासी गरिब र विपन्न परिवारको आर्थिक समस्या हटाउन सहयोग मात्र नभई दिगो व्यवस्थापन आवश्यक छ’, बरालले भने । नगरपालिकाको सहयोग उपयुक्त भएको नेकपाका जिल्ला कमिटी सदस्य अरुण बराल बताउँछन् । ‘दुःखमा परेका परिवारलाई नगरपालिकाले सहयोग गर्नु राम्रो काम हो । तर, यसलाई पारदर्शी र दिगो बनाउनुपर्छ,’ बराल भन्छन् ।

 

नगरभित्रका गरिब, विपन्नको दुःखलाई साथ दिएर नगरले सराहनीय काम गरेको स्थानीय तारावीर मोरोहाङ लिम्बू सुनाउँछन् । 

 

दाहसंस्कारमा मात्रै ३० लाख ४० हजार सहयोग 

 

नगरपालिकाकाले नगरभित्रका गरिब, विपन्न परिवारको निधनपछि दाहसंस्कारमा सहयोग गर्दै आएको छ । दाहसंस्कारमा गत आर्थिक वर्षसम्म ३० लाख ४० हजार सहयोग उपलब्ध गराएको हो ।


गत असार मसान्तसम्म ६ सय आठ जनाले दाहसंस्कार सहयोग पाएको नगरप्रमुख सूर्यप्रसाद पोख्रलेलले जानकारी दिए ।

 

नगरपालिकाले आर्थिक वर्ष ०७४/७५ मा १ सय ६०, आव ०७५/७६ मा २ सय १४ जनालाई सहयोग गरेको छ । यस्तै, गत आवमा २ सय ३४ जनाले दाहसंस्कार सहयोग लिएको तथ्यांक छ ।

 

आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको दाहसंस्कार सहयोग बर्सेनि बढ्दै गएको छ । ‘नगरपालिकाले सहयोगलाई दिगो बनाउन आन्तरिक स्रोत मजबुत बनाउँदै पञ्जीकरणमा आबद्ध गराउने नीतिगत व्यवस्था, कार्यक्रम तथा कार्यविधिको पुनरावलोकनमा लागेको छ’, प्रमुख पोखरेलले भने ।

 

आवश्यक कागजात लिएर आए नगरपालिका केन्द्रबाट तत्कालै सेवा प्राप्त हुन्छ । सेवा लिन वडा कार्यालयको सिफारिस, मृत्यु भएको आधिकारिक प्रमाण वा मृत्यु दर्ता प्रमाण लिएर आउनुपर्ने सूचना अधिकारी गोविन्द बास्तोलाले बताए ।


‘नागरिकले पाउने यस्तो सेवालाई सहज, सरल र पहुँचयोग्य हुनुपर्छ । आ-आफ्नै वडा केन्द्रबाट सेवा लिन मिल्ने नीतिगत व्यवस्थापनको काममा जुटिरहेका छौं’, बास्तोलाले भने ।