close

हिमाली गाउँपालिकाले संचालन गर्‍याे एम्बुलेन्स सेवा

हिमाली गाउँपालिकाले संचालन गर्‍याे एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको हिमाली गाउँपालिकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा सुचारु गरेको छ । जिल्लाको पूर्वी-उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाले गाउँमै एम्बुलेन्स सेवा संचालनमा ल्याएपछि स्थानीयमा खुसी भएका छन् । 


बिरामीलाई डोकोमा राख्दै दिनभर बोकेर प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा उपचार गर्न बाध्य दुर्गम ठाउँका स्थानीयमा यतिबेला गाउँपालिकाले गाउँमै एम्बुलेन्स सेवा संचालनमा ल्याएपछि खुसी छाएको हो ।


यसअघि गर्भवती महिला घरमै सुत्केरी हुन नसकेपछि तथा अन्य कुनै बिरामी भएपछि हिमाली गाउँका स्थानीयवासी डोकोमा बोकेर कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा उपचार गर्न बाध्य थिए । यातायातको सुविधा नभएर अकालमै ज्यान गुमाउनुपरेका याहाँका स्थानीयहरूको समस्या अन्त्य गर्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए ।


अध्यक्ष मल्ले भने, ‘गाउँपालिकाका नागरिकलाई बिरामी भएका बेला अकालमै ज्यान जान नदिन गाउँपालिकाले गाउँसभाबाटै एम्बुलेन्स खरिद गर्ने निर्णय गरेपछि एम्बुलेन्स खरिद गरिएको हो । गाउँपालिकाले स्थानीयलाई सहज रूपमा समयमै उपचार पाउने गरी एम्बुलेन्स सेवा संचालनमा ल्याएको अध्यक्ष मल्लको भनाइ छ ।


गाउँपालिकामा रहेका विपन्न, गरिब, जेष्ठ नागरिक, असहाय, अपांगता भएका, दलित, पिछडिएका वर्ग, गर्भवती, घाइते बिरामीलाई विशेष छुटका साथ सेवा दिने गरी एम्बुलेन्स संचालनमा ल्याएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर शाहीले बताए । सुदूरपश्चिम प्रदेश प००१झ ४०८ नम्बरको एम्बुलेन्स सेवा संचालनमा ल्याएको उनले बताए ।
 

अहिले एम्बुलेन्स सेवा संचालनमा आएसँगै गाउँपालिकाले सबै वडामा सडक निर्माण गरी स्थानीयवासीलाई समयमै स्वास्थ्य उपचारका लागि छिटो सेवा पुर्‍याउने लक्ष्य राखेर गाउँपालिकाको १० लाख ५० हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरेको प्रशासकीय अधिकृत शाहीको भनाइ छ । गाउँपालिकाको धुलाचौरमा एम्बलेन्स पुगेपछि स्थानीयवासी निकै खुसी भएका छन् ।


‘यसअघि बिरामी हुँदा डोको खोज्नुपथ्र्यो, गाउँका सबैलाई गुहार माग्नुपथ्र्यो, अब त्यो समस्या अन्त्य भयो’, स्थानीय बला रावतले भने । उनी जस्तै अन्य सबै गरिब तथा विपन्न वर्गका लागि गाउँमै एम्बुलेन्स सेवा संचालनमा आएपछि आफू निकै खुसी भएको रावतको भनाइ छ । 


गाउँपालिकामा रहेका गर्भवती महिला, दीर्घरोगी, दुर्घटनामा परेर घाइते भएकाहरूले एम्बुलेन्स संचालनपछि अकालमै ज्यान गुमाउनुपर्ने स्थिति नआउने हिमाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले बताए ।