close

बूढीनन्दाको उपप्रमुख कोसेली कार्यक्रम : गर्भवती आमाहरूलाई घरमै ज्वानोदेखि अन्डासम्म

बूढीनन्दाको उपप्रमुख कोसेली कार्यक्रम : गर्भवती आमाहरूलाई घरमै ज्वानोदेखि अन्डासम्म

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिकाले तयार गरेको उपप्रमुख कोसेली कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाभित्रका गर्भवती तथा सुत्केरी आमाहरूले स्वास्थ्य संस्थामा प्रसूति गराएबापत कोसेली पाउने हुँदा प्रभावकारी देखिएको हो ।


बूढीनन्दाले यस वर्षका लागि तय गरेको उपप्रमुख कोसेली कार्यक्रमबाट अहिलेसम्म नगरभित्रका १ सय २० जना महिलालाई कोसेली प्रदान गरिसकिएको छ । बूढीनन्दा नगर उपप्रमुख सृष्टि रेग्मीको विशेष पहलमा सुरु भएको उपप्रमुख कोसेली कार्यक्रमबाट नगरका गर्भवती तथा सुत्केरी आमाहरूले लाभ लिन थालेका छन् ।

 

बूढीनन्दाभित्रका सुत्केरी तथा गर्भवती महिलाहरूको सरसफाइ तथा पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो । नगरपालिकाका १० वटै वडाका महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत उपप्रमुख कोसेली दिइने गरेको नगरपालिकाका सूचना अधिकारी गोकर्णराज रेग्मीले बताए ।


 स्वास्थ्य संस्थामा सुत्केरी तथा गर्भवती महिलाहरूको पहुँच पुर्‍याउने उद्देश्यले नगरपालिकाले यो वर्षका लागि कार्यक्रम तय गरेको हो ।

 

‘बाजुराका कतिपय महिलाले स्वास्थ्य संस्थामा नगई सुँडेनीमार्फत घरमै सुत्केरी गराउँदा अकालमा ज्यान जाने अवस्था हटाउने उद्देश्यले जिल्लामा पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेका हौँ,’ नगर उपप्रमुख रेग्मीले भनिन् । बाजुराका सबै स्थानीय तहले यस्ता कार्यक्रम सञ्चालन गर्न सके मातृशिशु र गर्भवती महिलाको स्वास्थ्य अवस्थामा सुधार आउने उनको दाबी छ ।

 

बाजुराका सहज सडक यातायात नहुँदा ग्रामीण क्षेत्रका गर्भवती आमाहरूलाई बढी समस्या हुने गरेको छ । सुत्केरी व्यथाले च्यापेपछि हवाई उद्धार गर्नुपर्ने अवस्था अहिलेसमेत छ ।

 

नगरपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य चौकीहरूले रिफर गरेका गर्भवती महिलाहरूलाई कोसेली कार्यक्रमबाट भाडा खर्चस्वरूप २० हजार रुपैयाँ उपलब्ध गराइने उपप्रमुख रेग्मीले जानकारी दिइन् ।

 

नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा प्रसूति हुन आएका महिलालाई उपप्रमुख कोसेलीअन्तर्गत २ सय ५० ग्राम ज्वानो, १ प्याकेट आयोडिन नुन, २ चक्की लुगा धुने साबुन, १ चक्की नुहाउने साबुन र १ क्यारेट अन्डा निःशुल्क घरमै पुर्‍याइने गरेको छ ।


 
गत १ असोजदेखि सञ्चालन भएको यो कार्यक्रमबाट अहिलेसम्म नगरपालिकाका १ सय २० महिलाहरूले कोसेली पाएको उपप्रमुख कोसेली कार्यक्रमको जिम्मा पाएको प्रतीक्षा सप्लायर्स कोल्टीले जनाएको छ । 

 

करिब २ महिने अवधिमा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको पीयसीबाट १ सय, पाण्डुसैन स्वास्थ्य चौकीबाट २० जना गरी सो संख्यामा महिलालाई कोसेली प्रदान गरिएको सञ्चालक प्रदीपराज जोशीले जानकारी दिए । 

 

उनले भने, ‘स्वास्थ्यकर्मीको जानकारीबिनै स्वास्थ्य संस्थामा नपुर्‍याई सुँडेनीका भरमा घरमै सुत्केरी गराउनेका लागि कोसेली दिने गरेका छौँ ।’ नगरपालिकाका जुनसुकै स्वास्थ्य संस्थामा सुत्केरी गराएको रिपोर्ट अनिवार्य हुनुपर्ने वा स्वास्थ्य संस्थालाई जानकारी भए पनि पुग्ने उनले बताए ।


गत १ असोजमा सुदूरपश्चिम प्रदेश सभासद् बलदेव रेग्मी र नगरउपप्रमुख रेग्मीले वडा नम्बर ३ की शितलपुरा विकका आफन्तलाई उपप्रमुख कोसेली हस्तान्तरण गरेर कार्यक्रम सुरु भएको थियो ।