close

बालमैत्री बन्दै सूर्योदय

बालमैत्री बन्दै सूर्योदय

Trulli
ADVERTISEMENT

इलाम– इलामको सूर्योदय नगरपालिका बालमैत्री बन्ने भएको छ । २०७८ चैतमा बालमैत्री नगरपालिका घोषणा तयारीको काम भइरहेको नगरप्रमुख रणबहादुर राईले बताए । 

 

बालमैत्री नगरपालिकाका लागि आवश्यक बालबालिकासम्बन्धी धेरै सूचक पूरा भइसकेको छ । बाँकी सूचक पूरा गर्न नगरपालिका र बालमैत्री स्थानीय शासन नगर समितिलाई जिम्मा दिइएको छ । 

 

‘बालबालिकाको विकास नै समाज विकासको आधार भएकाले नगरपालिकालाई बालमैत्री बनाउन लागेका हौँ’, नगरप्रमुख राईले भने, ‘सानैदेखि बालबालिकाको विकास भयो भने समाजको विकास र भविष्यलाई सुन्दर बनाउन सकिन्छ ।’

 

नगरपालिकाले ७ चैतमा बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणा प्रतिबद्धता सार्वजनिक गर्दै आगामी २०७८ चैत मसान्तभित्र बालमैत्री नगर घोषणा गरिने बताएको छ ।

 

नगर प्रमुख राईले जनप्रतिनिधि, राजनीतिक दल, स्वास्थ्य कार्यालय, सुरक्षाकर्मी, विद्यालय व्यवस्थापन समिति, शिक्षक, उद्योगी व्यवसायी, बाल क्लब सञ्जाल, टोल विकास संस्थालगायतले हस्ताक्षर गरेको घोषणा प्रतिबद्धता सार्वजनिक गरे ।


 
नगरपालिकालाई बालमैत्री बनाउन सरोकारवालाको सहभागितामा बालमैत्री स्थानीय शासन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै प्रतिबद्धता सार्वजनिक गरिएको हो । 

 

अभिमुखीकरण कार्यक्रममा सरोकारवालासँग बालमैत्री स्थानीय शासन रणनीति तथा कार्यान्वयन कार्यविधि, २०६८, बालमैत्री घोषणा कार्यविधि २०७० अनुरूप सेवा प्रवाहका २७ र संस्थागत १२ गरी ३९ वटा सूचकको काम पूरा गरेर नगरपालिकालाई २०७८ चैतमा बालमैत्री घोषणा गर्ने सहमति भएको शिक्षा तथा बालबालिका शाखाकी तारा शेर्पाले बताइन् ।

 

बालमैत्री सूचकको काम ९० प्रतिशत काम पूरा

 

बालमैत्री नगरपालिका निर्माणका लागि आवश्यक सूचक ९० प्रतिशत पूरा भएको नगरपालिकाले जनाएको छ । बालमैत्री घोषणाका लागि आवश्यक सूचकको काम गरिसकिएको र अभिलेखन मात्र बाँकी रहेको नगरपालिकाको शिक्षा तथा बालबालिका शाखाले जनाएको छ ।

 

बालबालिकाको स्वाथ्य क्षेत्रमा निरन्तर काम गर्दै पूर्ण खोपयुक्त नगरपालिका घोषणा भइसकेको छ । नगरपालिकाले प्रत्येक बालबालिकाको जन्मदर्ता सुनिश्चित गर्दै घरपरिवार र समुदायबाट हुने हिंसा, बेचबिखन, शोषण, दुव्र्यवहार न्यूनीकरणमा निरन्तर काम गरिरहेको शेर्पाले जानकारी दिइन् । 

 

नगर क्षेत्रका सबै बालबालिकाले पढ्न पाउने अधिकार ग्यारेन्टी गर्दै अध्ययन प्रभावकारी बनाउन सिकाईका विभिन्न अभ्यासमूलक कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख राईले बताए । नगरपालिकाले बालबालिकाको समग्र विकास गर्न उनीहरूकै सहभागितामा विद्यालयमा बाल क्लब, बाल क्लब सञ्जाल निर्माण, पूर्वाधार विकास र बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुखको भनाइ छ । 

 

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०६८ अनुसार बालमैत्री स्थानीय तह बनाउन बाल बचाऊ, संरक्षण, विकास र सहभागिताका २७ वटा सूचक पूरा भएको हुनुपर्ने उल्लेख छ । 

 

साथै, सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाले १२ वटा सूचकमा सेवाको पहुँच पुर्‍याएकोे हुनुपर्नेछ । उल्लिखित ३९ वटा सूचक पूरा गर्न स्थानीय तहले बालमैत्री स्थानीय शासनका १६ वटा तहगत खुड्किलामा उल्लेख भएको काम पूरा गरेको हुनुपर्छ ।