close

रौतामाई र लिम्चुङबुङ पालिकाले किसानलाई बाँडे हाते ट्रयाक्टर

रौतामाई र लिम्चुङबुङ पालिकाले किसानलाई बाँडे हाते ट्रयाक्टर

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको रौतामाई र लिम्चुङबुङ गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्ने उद्देश्यअनुरूप किसानलाई मिनीटिलर वितरण गरेका छन् । लिम्चुङबुङले २४ जनालाई र रौतामाईले १० किसानलाई मिनीटिलर वितरण गरेका हुन् । 


लिम्चुङबुङले पालिकाका व्यावसायिक किसान छनोट गरि अध्यक्ष कृषि परियोजनाअन्तर्गत मिनीटिलर वितरण गरेको छ ।

 

पालिकाका ५ वटै वडाका किसानलाई अध्यक्ष कृषि परियोजनाअन्तर्गत ६० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरेको हो । लिम्चुङबुङ भौगोलिक हिसाबले दुर्गम मानिए पनि अब कृषिमा क्रमशः प्रविधिमय बन्दै गएको अध्यक्ष मेजरकुमार राईले बताए । 

 

आधुनिक नयाँ प्रविधिबाट किसानलाई खेतीपाती गराउन मिनीटिलर वितरण गरिएको उनले जानकारी दिए । लिम्चुङबुङमा अध्यक्ष कृषि कार्यक्रमले किसानलाई थप सफल बनाएको प्रतिक्रिया उनले दिए ।

 

पालिकाले पहिलो वर्ष १० वटा मिनीटिलर किसानलाई वितरण गरेको थियो । यान्त्रिकीकरण सामग्री कन्काई कृषि भण्डारले आपूर्ति गरेको कृषि शाखा प्रमुख जनजीत अधिकारीले बताए ।


२४ जना किसानलाई मिनीटिलर वितरण गरिएको उनको भनाइ छ । पालिकाको ६० प्रतिशत अनुदान र ४० प्रतिशत किसानको लागत सहभागितामा मिनीटिलर वितरण गरिएको हो । 

 

अधिकारीका अनुसार वडा नम्बर १ मा ५, २ मा ५, ३ मा ७, ४ मा ३ र ५ मा ४ गरी २४ हाते ट्रयाक्टर वितरण गरिएको छ । 

 

त्यसैगरी रौतामाई गाउँपालिकाले पालिकाभित्रका युवालाई कृषि पेसामा आर्कषित गर्न १० वटा मिनीटिलर ८० प्रतिशत अनुदानमा वितरण गरेको छ । युवा किसानलाई थप सहज र छरितो बनाउन मिनी टिलर वितरण गरिएको हो ।

 

रौतामाईको कृषि शाखाअन्तर्गत ८० प्रतिशत अनुदान र २० प्रतिशत किसानको लागत सहभागीमा मिनी टिलर वितरण गरिएको छ । 

 

पालिकाभित्रका विभिन्न वडाका युवा किसानलाई प्राथमिकताका आधारमा छनोट गरेर मिनीटिलर उपलब्ध गराइएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । 


पालिकाभर धेरै उब्जाउ गर्ने र कृषिलाई पेसा बनाएर आत्मनिर्भर भएका किसानलाई लक्षित गरेर पालिकाले लगानी गरेको अध्यक्ष खड्काको भनाइ छ ।


मिनीटिलरको मूल्य ९ हर्षपावरकोलाई ७४ हजार र ६ हर्षपावरकोलाई ६४ हजार रुपैयाँ परेको अध्यक्ष खड्काले बताए ।