close

सुकेटारबाट देखिएको सुन्दर सूर्योदय

सुकेटारबाट देखिएको सुन्दर सूर्योदय

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - सूर्योदय हेर्न मन लाग्यो ? तपाईंको दिमागमा इलामको श्रीअन्तु र भारत दार्जिलिङको टाइगर हिल क्षेत्र सम्झनामा आइहाल्छन् । तर, सूर्योदयको अवलोकन गरेर फर्किनेहरूले भने ताप्लेजुङको सुकेटार नजिकमा रहेको सनराइज भ्यू टावरबाट देखिने सूर्योदय अरूभन्दा अब्बल रहेको दाबी गर्न थालेका छन् । 


उनीहरूले प्राकृतिक रूपमै यो क्षेत्र सूर्योदय नियाल्नका लागि अनुकूल भएको बताउँदै आएका छन् । होटल व्यवसायी संघका जिल्ला अध्यक्षसमेत रहेका फुङ्लिङका दिनेश खवासले ताप्लेजुङको सनराइज भ्यू टावरबाट देखिने सूर्योदयको वास्तविक दृश्य अन्त कहीँबाट नपाएको बताए । ‘धेरै ठाउँबाट सूर्योदय दृश्य नियालियो तर यहाँबाट जस्तो स्पष्ट कहीँबाट पाइनँ’, सूर्योदयको दर्शनपछि फर्किएका खवासले भने । 


मानिसहरूको चर्को आवागमन हुन थालेपछि स्थानीय सरकारका प्रतिनिधिले समेत यसको वास्तविकता बुझ्ने कोसिस गरेका छन् । फुङ्लिङ नगरपालिकाका नगरप्रमुख छत्रपति प्याकुरेल यो क्षेत्रको भविष्य आफूले स्थानीय तहको निर्वाचनअघिबाटै देखेको स्मरण गर्छन् । उनले यो क्षेत्रलाई सनराइज भ्यू टावरको रूपमा विकास गर्ने आफ्नो चुनावी नारासमेत रहेकाले अब यस क्षेत्रको प्रवद्र्धनका लागि विशेष योजना अघि सार्ने पक्षमा रहेको बताए ।


‘सुरुबाटै यो प्राथमिकतमा थियो’, उनले भने, ‘यहाँको वास्तविकता बाहिरिन थालेपछि यो साँच्चै दर्शनीय केन्द्रझैँ मानिसहरूको बाक्लो आवागमन हुन थालेको छ ।’


नगरपालिकाले यस क्षेत्रको पूर्वाधार निर्माणमा खर्च गर्नेगरी यसअघि नै १० लाख रुपैयाँ रकम विनियोजन गरिसकेको उनले जानकारी दिए । पर्यटन मन्त्रालयले समेत यस क्षेत्रको पूर्वाधारमा सघाउन १० लाख रुपैयाँ दिइसकेको छ । 


पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा यहाँको भ्यूटावरबाट देखिने सूर्योदय इलामको श्रीअन्तु र दार्जिलिङको टाइगर हिलभन्दा स्पष्ट रूपको रहेको बताए । ‘यहाँबाट मैले पटक हेरेँ । पहिलो पटकको दृश्यावलोकनबाटै म यो क्षेत्रबाट लोभिएँ’, उनले भने । 


सूर्योदय अवलोकन गरिसकेपछि त्यहीँबाट ताप्लेजुङका वरपरको क्षेत्रको मनरोम दृश्य पनि अवलोकन गर्न सकिने भएकाले सूर्योदय अवलोकनसँगै यो क्षेत्र दृश्य कैदका लागि पनि उपयुक्त ठाउँ भएको समेत पालिका अध्यक्ष सुब्बाले बताए । 


सनराइज भ्यू टावर रहेको क्षेत्र पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट धेरै समय लाग्दैन । फुङ्लिङबाट आठ किलोमिटर पक्की बाटो पार गरी त्यहाँबाट करिव अढाई किलोमिटर पूर्वी दक्षिण भाग पाथीभरा याङ्वरकको तिरिङ्गे क्षेत्रतर्फको कच्ची बाटो पार गर्दा भ्यू टावर पुग्न सकिन्छ । 


सूर्योदय हेर्न बिहानको ६ बजेर ५ मिनेटमा भने भ्यू टावर पुगिसक्नुपर्छ । आफ्नै सवारी भए फुङ्लिङबाट बिहान ५ बजे प्रस्थान गर्दा सूर्योदय अवलोकनका लागि त्यहाँ पुग्न सकिन्छ भने सवारी साधनबाट ओर्लिएपछि करिव १५ मिनेट उकालो सिँढी चढेपछि भ्यू टावर पुगिन्छ । 


बाह्रैमास सवारी आवागमन हुन सक्ने क्षेत्र भएको र भ्यू टावरको मुनिसम्म नै सवारीमा जान सकिने भएकाले आवतजावत पनि सुविधापूर्ण हुने देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहका सचिव पासाङरिता शेर्पा बताउँछन् । 


यो यही वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्छ । यो क्षेत्रलाई पर्यटन हब बनाउने अभियानमा लामो समयदेखि सक्रिय संरक्षणकर्मी सीपी भट्टराई बल्ल यो भ्यू टावरले महत्त्व पाउन थालेको बताउँछन् । उनले यस क्षेत्रलाई सूर्योदय तथा दृश्यावलोकन गर्ने तथा तस्बीर कैद गर्ने महत्त्वपूर्ण स्थानको रूपमा विकास गर्ने बताउँछन् ।


‘ताप्लेजुङमै गज्जबको पर्यटकीय क्षेत्र फेला परेको कुराले सार्थकता पाएको छ’, यो क्षेत्रमा मानिसहरू आउजाउ र चहलपहल बढेको प्रति संकेत गर्दै उनले भने । उनले यो क्षेत्रलाई थप पूर्वाधार सम्पन्न बनाउन तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।