close

मध्यपहाडीमै रमाउँदै छ याङबरक

मध्यपहाडीमै रमाउँदै छ याङबरक

Trulli
ADVERTISEMENT

पाँचथर-  गत बिहीबार पाँचथरको उत्तरी याङवरक गाउँपालिका–१ को सुकेढापमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) उद्घाटन कार्यक्रम थियो । त्यसका लागि सशस्त्र प्रहरीका उच्च अधिकारी, गाउँपालिका प्रमुख लेखनाथ घिमिरे, उपप्रमुख कमला योङ्यासहितको  टोलीलालाई गन्तव्य पुग्न निकै सकस भयो ।


च्याङ्थापु बजारदेखि सुकेढाप पुग्न समस्या पर्ने कारण थियो, सडक । च्याङ्थापुसम्म मध्यपहाडी लोकमार्गको सडक भएकाले सुबिस्तासँग पुगेकाहरु त्यहाँभन्दा १२ किलोमिटर माथि जान सकसमा परे ।


गाउँपालिकाका पर्यटकीय क्षेत्र सुकेढापा, लामपोखरी क्षेत्रको बखान गर्न पनि उनीहरुले छुटाएनन् । तर, त्यहीँ ठाउँ पुग्न अतिथि मात्र हैन, सर्वसाधारणले समेत  सास्ती बेहोर्नुप¥यो ।

‘सशस्त्र प्रहरीले अनुरोध गर्दा मात्र  यत्तिको भएको हो’, एक स्थानीयले भने, ‘कतै गाडी ठेल्नुपर्ने, कतै तान्नुपर्ने अवस्था आयो । मोटरसाइकलमा जानेहरु लखतरान भए । सडक किन नबनाइएको होला भनेर सबैले मुखामुख गरे ।’


याङबरक गाउँपालिका मध्यपहाडी लोकमार्गका कारण सडकमा भाग्यमानी भयो । कठिन भूगोग छिचोलेर लोकमार्गको राम्रो बाटो बन्यो । ग्राभेल बाटोले यो गाउँपालिकाको सबै वडा छुन्छ । लोकमार्गको सुरुआती बिन्दु याङवरकको चिवाभन्ज्याङमा पर्छ । चिवाभन्ज्याङदेखि मेचीराज मार्ग गणेशचोकसम्म ६० किलोमिटर सडक मध्यपहाडी लोकमार्ग पर्छ ।


मध्यपहाडी लोकमार्गको सडक राम्रो भए पनि त्यही मार्गबाट गाउँहरु छिर्ने सडकको अवस्था बेहाल छ ।


गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले भने, ‘हामीले प्राथमिकताको योजना भनेर सडकलाई नै राखेका छौं । ६ वटै वडामा ६ वटै प्राथमिकताका योजना छन् । अब रकम विनियोजन गरेर सडकलाई स्तरोन्नति गर्ने कामलाई निरन्तरता दिन्छौं ।’


सुकेढाप जाने मात्र हैन, अन्य गाउँ छिर्ने सडकसमेत बेहाल अवस्थामा छन् । गाउँपालिका केन्द्रदेखि इवाखोला, काबेली खोला जाने सडकमा समेत उस्तै सास्ती छ ।


२ नम्बर वडाको बर्मेवासीले सडकको अपेक्षा गरेको लामो समय भइसक्यो । मध्यपहाडी लोकमार्गले भने यो गाउँपालिकालाई राहत दिएको छ । गणेशचोकदेखि गाउँपालिका केन्द्र थुर्प हुँदै ९ किलोमिटर दोरिम्बासम्मको सडक कालोपत्रे छ ।


त्यहाँदेखि चिवाभन्ज्याङसम्मको सडक ग्रावेल स्तरको छ । दोरिम्बादेखि चिवाभन्ज्याङसम्मको ५१ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का खुलेको लोकमार्गको आयोजना कार्यालय फिदिमले जानकारी दिएको छ ।