close

प्रदेश २ मा ओली र प्रचण्ड–माधव खेमा आमनेसामने

ओली शक्ति प्रदर्शनमा, माधव-प्रचण्डको ध्यान पार्टी संरचनामा 

प्रदेश २ मा ओली र प्रचण्ड–माधव खेमा आमनेसामने

ओली शक्ति प्रदर्शनमा, माधव-प्रचण्डको ध्यान पार्टी संरचनामा 

Trulli
ADVERTISEMENT

धनुषा- प्रधानमन्त्री केपी ओली समूहको नेकपा र पुष्पकमल दाहाल-माधव नेपाल समूहको नेकपाले मंगलबार प्रदेश २ को राजधानी जनकपुरलाई तताए । नेकपा २ समूहमध्ये ओली पक्षले शक्ति प्रदर्शन गर्‍यो भने दाहाल-नेपाल समूहले संसदीय दलको नेता परिवर्तनको खेलमा झेल गर्‍यो ।


प्रचण्ड-नेपाल समूहको नेकपाले प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ ।

 

जनकपुरमा बसेको प्रचण्ड-नेपाल समूहको बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै शत्रुघन महतोलाई आफ्नाे दलको नेता चयन गरेको हो ।


बहुमत सदस्यले मण्डलविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको प्रचण्ड-नेपाल समूहका संसदीय दलका नेता महतोले जानकारी दिए । महतोले नेकपाका ३२ मध्ये १९ प्रदेश सांसद आफूहरूसँगै रहेकाले बहुमत स्वतः भएको हुँदा नयाँ नेताको जिम्मेवारी पार्टीले सुम्पिएको दाबी गरे ।

 

मण्डललाई हटाउन प्रदेश संसदीय दलका उपनेता रामकुमार यादवसमक्ष गत बुधबार नै प्रचण्ड-माधव समूहका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

 

बैठकमा सहभागी नभएपछि बहुमतले मण्डलविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको संसदीय दलका सचेतक बेची लुंगेलीले जानकारी दिए ।

 

प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेता चयनबारेको जानकारी सभामुख सरोजकुमार यादवलाई गराएको बताएको छ ।  ओली समूह पनि के कम । मंगलबार जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।


मधेसविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली समूहको नेकपाले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो । 

 

अहिले ओली सरकारमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने ३ मन्त्री छन् । जनकपुरको रेल्वे स्टेसन परिसरबाट सुरु भएको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरू, नगरप्रमुख र उपप्रमुखहरू सहभागी थिए ।

 

प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवन पुगेर सभामा परिणत भएको थियो । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गरे ।


कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताए । ओली समूहको स्थायी समिति सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताविरुद्ध जानेहरूको अन्त्य सुनिश्चित रहेको दाबी गरे ।

 

‘नेपालको इतिहासमा कम्युनिस्ट आन्दोलनले फड्को मारेका बेला एकता भएको ३ वर्ष नबित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टीभित्रैबाट एकता विरोधी गतिविधि भए’, उनले भने । 

 

सहरी विकासमन्त्री प्रभु साहले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्नुको कारण रहेको दाबी गरे । उनले भने, ‘केही नेता प्रतिनिधिसभा विघटन असंवैधानिक, प्रतिगमन रहेको भन्छन्, हामी आफैँ पनि खुसी छैनौँ । प्रधानमन्त्री पनि यसमा खुसी हुनुहुन्न । ५ वर्षसम्म जनादेश पाएको सरकार र पार्टीलाई काम गर्न नदिइएपछि प्रतिनिधिसभा विघटन बाध्यात्मक बनेको हो ।’

 

संसद्बाट अर्को सरकार बन्ने सम्भावना नरहेको अवस्थामा मध्यावधि निर्वाचनमा जाने प्रावधान रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा ६२ प्रतिशत सांसद रहेकाले अन्यसँग सरकार बन्ने अवस्थै नभएको दाबी गरे । 

 

प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहेको समय त्यसको प्रतिरक्षा गर्नुको साटो आन्दोलन गरेर गैरजिम्मेवारी ढंगले देश बर्बाद गरिरहेको भन्दै साहले आक्रोश व्यक्त गरे । 

 

कार्यक्रममा पूर्वमन्त्री तथा स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालीन नेकपा एमालेको पार्टी कार्यालय र हालको प्रदेश कार्यालय कब्जा गर्न खोज्नेमाथि आफूहरू जाई लाग्ने चेतावनी दिए । उनले भने, ‘हिम्मत छ भने अहिले आएर हामीलाई धपाएर देखानुस् ।’ पार्टीको नाम नेकपा र सूर्य चिह्न ओली समूहकै रहेको उनको दाबी छ ।