close

पालिकाकाे आदेश स्कुल खोल्नू, वडाध्यक्ष भन्छन् खबरदार ! बेला भएको छैन

पालिकाकाे आदेश स्कुल खोल्नू, वडाध्यक्ष भन्छन् खबरदार ! बेला भएको छैन

Trulli
ADVERTISEMENT

धनुषा - झन्डै ७ महिनाभन्दा बढी समयदेखि बन्द रहेका जनकपुरधाम उपमहानगरअन्तर्गतका शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय विवादमा आएकाे छ । नगरपालिकाकाे शिक्षा शाखाले विद्यालय गर्ने भनेपनि उपमहानगरका वडाध्यक्षहरूले भने विद्यालय सञ्चालनमा अझै जोखिम रहेकाले त्याे निर्णय लागु हुन नसक्ने बताउँछन् ।

 

जनकपुरधाम उपमहानगरको कार्यविधिलाई टेकेर आन्तरिक बैठकद्वारा संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिका पालना गर्ने सर्तमा ६–१२ कक्षासम्मका विद्यालयमा मंगलबारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपप्रमुख रीतादेवी मिश्रले जानकारी दिइन् । शिशु कक्षा र बाल विकासका शिक्षक–शिक्षिकाले विद्यार्थीको घरघरै पुगेर होम ट्युसन चलाउने निर्णय भएको उनले बताइन् । 

 

उपमहानगरको शिक्षा शाखाकी अधिकृत अञ्जु पाण्डेका अनुसार संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयका शिक्षकहरू शिशु र बाल विकासका विद्यार्थीलाई घरमै पुगेर पालैपालो शिक्षण सिकाइको कामलाई सञ्चालन गर्ने निर्णय भएको छ । 

 

‘कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि टोलको कुनै ठाउँ रोजेर अध्ययन गराउने निर्णय भएको छ । विभिन्न टोलमा १०–१५ जना विद्यार्थीको समूह बनाएर नजिकको सामुदायिक भवन वा अन्य कुनै स्थान खोजेर शिक्षण सिकाइको काम सञ्चालन गरिनेछ’, पाण्डेले भनिन् । 

 

विद्यार्थीको पठनपाठन लामो समयदेखि अवरुद्ध भएकाले सिकाइ तथा शैक्षिक स्तर वृद्धि गराउन वैकल्पिक विधि अपनाइएको उनको दाबी छ ।

 

‘विद्यालयमा भौतिक दूरीलाई कायम गर्दै एउटा कक्षामा २५ विद्यार्थी राखेर पठनपाठन सञ्चालन गर्ने  निर्णय भएको छ,’ उपप्रमुख मिश्रले भनिन्, ‘प्रत्येक दिन अनिवार्य विषयको ३ घन्टा मात्र पढाइ हुनेछ । विद्यार्थी संख्या बढी भएको विद्यालयमा २ सिफ्टमा विद्यालय सञ्चालन गर्नेछौं । त्यसले पनि पुगेन भने बहुकक्षा विधि अपनाएर विद्यालय सञ्चालन गर्छौं ।’

 

प्रत्येक विद्यालयमा विद्यार्थी तथा शिक्षकले मास्क लगाउनुपर्ने, साबुन पानीको व्यवस्था हुनुपर्ने प्रावधानमा कडाइ गरिएको मिश्रले बताइन् । ‘तोकिएको मापदण्ड पूरा नगरी विद्यालय सञ्चालन गरेको पाइए कारबाही गर्छौं’, उपप्रमुख मिश्रले भनिन् । यसअघि उपमहानगरले असोज १६ मा विज्ञप्ति जारी गर्दै विद्यालय सञ्चालन गरे कडा कारबाही गर्ने परिपत्र गरेको थियो ।

 

तर, विद्यालय नियमित सञ्चालन हुनेमा उपमहानगरका वडाध्यक्षहरू भने शंका व्यक्त गर्छन् । वडा–७ का वडाध्यक्ष तथा रामजानकी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जानकीराम साह भन्छन्, उपमहानगरको निर्देशनमा विद्यालय खोल्ने निर्णय गर्नु जोखिम निम्त्याउनुबाहेक केही होइन ।

 

‘उपमहानगरले असोज १६ मै विद्यालय नखोल्न परिपत्र जारी गरेको अवस्थामा अहिले फेरि अर्को निर्णय गर्नु हाँस्यास्पद हो’, साहले भने ।