close

कोरोनाले सुनसान बर्दिया निकुञ्ज

कोरोनाले सुनसान बर्दिया निकुञ्ज

Trulli
ADVERTISEMENT

बर्दिया - यतिबेला बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन गर्ने पिकआवरको समय हो । विगत वर्षमा यो सिजनमा पर्यटकको स्वागतका लागि पर्यटन व्यवसायी तामझामसहित जुटेका देखिन्थे ।


निकुञ्जमा बाघलगायत अन्य वन्यजन्तु अवलोकन गर्न भन्दै अधिकांश पर्यटन व्यवसायीलाई देश-विदेशका पाहुनालाई निम्तो दिन भ्याई-नभ्याई हुन्थ्यो । पर्यटकलाई आकर्षित गर्न व्यवसायीहरु आकर्षक प्याकेजसहित प्रचारप्रसारमा पनि जुट्थे ।

 

केही विदेशी पर्यटकले निकुञ्ज अवलोकनका लागि होटल बुकिङसमेत गरिसकेका हुन्थे । तर, यस पटक भने निकुञ्ज क्षेत्र सुनसान छ । होटल, रिसोर्ट सबै बन्द छन् । सिजनको मुखैमा आएर पर्यटन व्यवसायीहरुलाई गाँसमा ढुंगो परेझैं भएको छ ।  


स्वागतका लागि पर्यटक कुरिरहेकै समय कोरोना महामारीले च्याप्यो । केही साता नबित्दै नेपालमा पनि लडकडाउन सुरु भयो । अन्तर्राष्ट्रिय उडान बन्द भए । यसको पहिलो मार पर्यटन व्यवसायीलाई पर्न गयो । बुकिङहरु धमाधम रद्ध भए । यसले गर्दा पर्यटकीय सिजनको रौनकता सुरु नहुँदै पर्यटन क्षेत्र एकाएक सुनसान बन्दै गए ।


विगतका वर्ष यो सिजनमा यहाँ पर्यटक खचाखच हुन्थे । पर्यटन व्यवसायी र नेचर गाइडलाई निकुञ्जमा पर्यटक घुमाउन भ्याई-नभ्याई हुन्थ्यो । तर, यतिखेर पर्यटकीय क्षेत्र ठाकुरद्वारा सुनसान छ । निकुञ्जले जंगल वाक, जीप सफारी, हात्ती सफारीलगायत सबै गतिविधि बन्द गरेको छ ।


पर्यटकलाई लक्षित गर्दै ठाकुरद्वारामा खोलिएका करिब ३० भन्दा बढी साना-ठूला होटल तथा रिसोर्टहरु सुनसान  छन् । होटल बन्द भएपछि यहाँ काम गर्ने करिब ३ सय कर्मचारी बेरोजगार भएका छन् । करोडौं लगानी गरेर होटल, रिसोर्ट सञ्चालन गरेका पर्यटन व्यवसायीहरु  चिन्तामा छन् । बैंकको ब्याज र किस्ता कसरी तिर्ने भन्नेमै उनीहरुको पिरलो छ ।  


पर्यटकीय गतिविधि शून्य हुँदा व्यवसाय धराशयी भएको बर्दिया एडभेन्चर रिसोर्टका सञ्चालक नरेश धमला बताउँछन् । ‘कोरोनाका कारण पर्यटक नआउँदा पर्यटन व्यवसाय दयनीय अवस्थामा पुगेको छ । होटलमा गरिएको लगानी खेर जाने अवस्था देखियो’, धमलाले भने । लकडाउनका कारण लगानी डुबेपछि राज्यलाई कर तिर्नसमेत नसकिएको यस क्षेत्रका व्यवसायी बताउँछन् ।


मुलुकमा स्थिर सरकार आएपछि बर्दियाको पर्यटन फस्टाउने आशमा व्यवसायीले करोडौं लगानी गरेर रिसोर्ट, होटल सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी एवं गैंडा क्याम्प रिसोर्टका सञ्चालक रामजी थापा बताउँछन् । ‘कोरोना महामारीले पर्यटन व्यवसायमा ठूलो धक्का दियो । थलिएको पर्यटन व्यवसाय उकास्न सरकारले नै पहल गरिदिनुपर्छ’, थापा भन्छन् ।


पर्यटन व्यवसायीको करिब ३ अर्बको लगानी डुबेको पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘कोरोना महामारीका कारण पर्यटन व्यवसायीको ३ अर्ब रुपैयाँको लगानी डुबेको छ । पर्यटन व्यवसायीहरु ५० कारोड बराबरको बैंक ऋण तिर्न  सक्ने अवस्थामा छैनन् ।’ 


सरकारले बैंक ब्याज मिनाहा गर्न नसके पनि ब्याज र किस्ता तिर्ने समय अवधी बढाइदिए पर्यटन व्यवसायीलाई राहत पुग्ने भट्टराई सुनाउँछन् ।